बाबुराम भट्टराई बुढीगण्डकी जलविद्युत आयोजना बन्न नदिने खेलमा लागे : माओवादी

गोरखा, कात्तिक २५ – नेकपा माओवादी केन्द्रले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई बुढीगण्डकी जलविद्युत आयोजना बन्न नदिने खेलमा लागेको आरोप लगाएको छ । देशी विदेशी अदृश्य शक्तिको समेत इशारामा भट्टराईले बुढीगण्डकी बन्न नदिने खेल सुरु गरेको माओवादीको दाबी छ । भट्टराईले केही दिनअघि प्रभावित क्षेत्र अन्तर्गत दर्बुङका बासिन्दासँगको भेटमा आयोजनाको मुआब्जा प्रचलित बजार भाउ भन्दा तीन गुणा बढाएर दिनुपर्ने बताउनुभएको थियो । आफू प्रधानमन्त्री  र प्रभावित क्षेत्रकै सांसद भएका बेला नउठाएका सवाल अहिले उठाउनु रहस्यमय भएको माओवादी केन्द्रले बुधबार पत्रकार सम्मेलन गरेर बताएको हो ।

पत्रकार भेटघाटमा पार्टीका स्थायी समिति सदस्य हरि अधिकारीले भट्टराई भूमाफिया र अदृश्य शक्तिको प्रभावमा परेको दाबी गर्नुभयो । ‘अनायसै तीन गुणा बढाउनु पर्छ भनेर उत्तेजक अभिव्यक्ति दिनुभएको छ, मुआब्जाको लागि लड्छु भन्नुभएको रहेछ’ अधिकारीले प्रश्न गर्नुभयो, ‘बुढीगण्डकीका लागि लड्छु भन्नेले आफू प्रधानमन्त्री भएको बेला किन नलडेको ? आफू सक्ने ठाउँमा हुँदा किन केही नगरेको ?’ उहाँले अदृश्य शक्तिहरु बाहिर बुढीगण्डकी बन्छ भन्ने तर भित्रभित्रै बन्न नदिने चलखेलमा लागेको दाबी गर्नुभयो ।

अहिले माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको, उर्जा मन्त्रालय समेत पार्टीको मातहत रहेको र बुढीगण्डकी आयोजना बन्ने सकारात्मक माहोल बन्दै गएको अवस्थामा भट्टराईको त्यस्तो अभिव्यक्ति आउनु रहस्यमय भएको अधिकारीको भनाई छ । बुढीगण्डकी आयोजना बन्न नदिने भट्टराईको मनसाय रहेको भन्दै त्यसका विरुद्ध अभियान थाल्ने माओवादी केन्द्रको जिल्ला सचीवायलयको बैठकले निर्णय गरेको पत्रकार सम्मेलनमा बताइएको छ ।

पार्टीका जिल्ला इन्चार्ज चुडामणि खड्काले भन्नुभयो, ‘उहाँले बुढीगण्डकी बनोस् भन्ने भावनामा खेलवाड गर्नुभएको छ, उहाँ कतैबाट निर्देशित हुनुहुन्छ भन्ने हालीलाई लागेको छ ।’ भट्टराईले अन्तर्राष्ट्रिय डिजाइन अनुसार नागरिकलाई भड्काउने काम गरेको भन्दै त्यसको भण्डाफोर गर्ने खड्काको भनाई छ ।

पत्रकार सम्मेलनमा राज्यपुनर्संरचना अन्तर्गत गोरखामा प्रस्ताव गरिएको ११ वटा स्थानीय तहको प्रस्ताव राम्रो भएको नेताहरुले बताएका छन् । सबै दलको सहमतिमा प्रस्ताव तयार भएको भन्दै माओवादी केन्द्रले त्यसको समर्थन गर्दै प्रचारात्मक अभियान समेत सञ्चालन गर्ने निर्णय गरेको इन्चार्ज खड्काले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा सांसद कृष्ण धिताल, पूर्व सांसद अमर तमुले पनि आफ्ना धारणा राख्नुभएको थियो ।

मुआब्जा वितरणको अन्तिम तयारी हुँदै

बुढीगण्डकी जलविद्युत आयोजना अन्तर्गत गोरखाको मुआब्जा निर्धारण समितिले ८ गाविसको जग्गाको वर्गिकरण लगायतको काम सकेको छ । प्रभावित क्षेत्रका बासिन्दाका लागि विभिन्न ११ वटा समूहमा जग्गाको वर्गिकरण गरिएको हो ।  यही मोडालिटीअनुसार मुआब्जा बाँड्न सुरु गरिने स्थानीय प्रशासनले जनाएको छ । अहिलेसम्म घ्याल्चोक, भुम्लीचोक, दर्बुङ, नामजुङ, धावा, आरुपोखरी, आरुअर्वाङ र थुमी गाविस अन्तर्गत डुबानमा पर्ने जग्गाको वर्गिकरण गरी कम्प्युटरमा अभिलेख राख्ने काम सकिएको हो ।

आरुचनौटे बाहेक डुबान क्षेत्रका अरु ५ गाविसका जग्गाको वर्गिकरण अब ५ दिनभित्र सकिने मुआब्जा निर्धारण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । आयोजनाबाट गोरखाका १४ गाविस प्रभावित हुनेछ भने धादिङका १३ गाविसको विभिन्न भाग डुबानमा पर्ने छन् । मुआब्जा बाँडिने जग्गाको ११ वटा मापदण्ड बनाइए पनि त्यसको मूल्य भने निश्चित नभएको भट्टको भनाइृ छ । मूल्य निर्धारणबारे आन्तरिक तयारीहरु गरिए पनि निश्चित भने नभइसकेको उहाँले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया