सभापति शेरबहादुर देउवाबाट कांग्रेस चल्न सक्दैन : नेता पौडेल

कात्तीक २५ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल निरङ्कुश तरिकाले चल्न खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेस बनेपा नगर समितिले बुधबार बनेपामा आयोजना गरेको कांग्रेस नगर सभापतिको प्रथम राष्ट्रिय सम्मेलनमा उनले नेपाली कांग्रेसको आड र भरोसामा निर्माण भएको सरकारले नेपाली कांग्रेसको सल्लाह बिना काम गरेको आरोप लगाएका हुन् । निेता पौडेलले भने ‘सरकार सञ्चालनका लागि आचारसंहिताको निर्माण गर्नुपर्दथ्यो र कम्तीमा एउटा कार्यक्रम बनाएर अघि जानुपर्थ्यो, तर नेतृत्वले ध्यान दिन सकेन ।’ नेतृत्वप्रति आक्रामकरुपमा प्रस्तुत भएका पौडेलले सरकारले जनतालाई उत्साहित बनाउने काम गर्न नसकेको तर्क गरे । ‘म धेरै ठाउँमा एक्लै बोलिरहेको छु, म एक्लो वृहस्पति भएँ कि भन्ने चिन्ता पनि छ’ पार्टी नेतृत्वको आलोचना गर्दै उनले भने । नेता पौडेलले नेपाली कांंग्रेस गाउँ र नगरस्तरका कार्यकर्ताबाट नै सञ्चालन हुने जिकिर गर्दै पार्टी सभापति शेरबहादुर देउवाबाट कांग्रेस चल्न नसक्ने बताए । ‘पार्टी नेतृत्वमा कल्पनाशीलता चाहिन्छ, तर हाम्रो पार्टी नेतृत्वमा त्यस्तो देखिएन’ उनले भने । शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले पुनःनिर्माणको कामले पूर्णता नपाएकाले र पीडितको घाउ निको नभएकाले स्थायी शान्ति स्थापना हुन नसक्ने उल्लेख गर्दै भत्केको संरचनाको काम ३५ प्रतिशत मात्रै भएको बताइन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले स्थानीय चुनावमा एमालेको, सरकारमा माओवादीको र संविधान संशोधनमा मधेसीको छाँया भए कांग्रेसको प्रभावकारितामा प्रश्न उठ्ने बताए । दुई दिनसम्म चल्ने सो नगर सभापति सम्मेलनमा देशभरका २१७ नगरबाट सभापति सहभागी छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यसमा तपाईको प्रतिक्रिया