ट्रम्पविरुद्ध अमेरिकाभर प्रदर्शन, ओबामाले ह्वाइट हाउसमा स्वागत गर्दै (फोटो फिचर)

काठमाडौं, २५ कात्तिक । भावी राष्ट्रपतिका लागि भएको चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएपछि अमेरिकाका धेरै शहरहरुमा उनको विरोधमा प्रदर्शन भएका छन्।

न्यूयोर्कस्थित ट्रम्प टावरको बाहिर भेला भएका हजारौं मानिसले आप्रवास, समलिंगी अधिकार र प्रजनन अधिकारबारे ट्रम्पको नीतिबारे विरोध जनाइरहेका छन्।

बुधबार बिहान उनको विजयको पुष्टि भएसँगै क्यालिफोर्नियाको बर्क्ली र ओकल्याण्डमा सयौंले र्याली गरेर ‘उनी मेरा राष्ट्रपति होइनन्’ भन्दै विरोध जनाएका थिए।

परिणाम स्वीकार गर्न आह्वान

अमेरिकाका पश्चिम तटीय शहरहरु तथा पूर्वी तटको शिकागो जस्ता शहरहरुमा पनि खासगरी विद्यार्थी र युवाहरुले सानो स्तरका प्रदर्शनहरु गरेका छन्।

यसैबीच राष्ट्रपति बराक ओबामाले सत्ता हस्तान्तरणको संक्रमणलाई सहज बनाउने उद्देश्यले तय गरिएको भेटवार्ताका लागि आफ्ना उत्तराधिकारी डोनाल्ड ट्रम्पसँग भेट्दै छन्।

आफ्नी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनमाथि आश्चर्यजनक विजय प्राप्त गरेपछि ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बन्दैछन्।

ओबामाले ट्रम्प अयोग्य भएको भन्दै उनलाई ह्वाइट हाउस जित्नबाट रोक्न उनीविरुद्ध चर्को अभियान चलाएका थिए।

तर मत परिणामपछि राष्ट्रपति ओबामाले सबै अमेरिकीहरुलाई उक्त परिणाम स्वीकार गर्न आह्वान गरेका छन्।

ट्रम्पलाई सफल बनाउन ओबामाको समर्थन

ओबामाले ट्रम्पबारे बोल्दै अब सबैलाई एकताबद्ध हुन र देशलाई नेतृत्व दिने कार्यमा ट्रम्पलाई सफल बनाउन आफुहरुले समर्थन गरिरहेको बताएका छन्।

ओबामा र क्लिन्टनले एकताका लागि ट्रम्पलाई नेतृत्व गर्ने मौका दिनुपर्नेमा आफ्ना समर्थकहरुलाई आह्वान गरे पनि ट्रम्पको जितपछि अमेरिकाका धेरै राज्यहरुमा विरोध प्रदर्शनहरु भएका छन्।

प्रहरीले शुरुमा न्यूयोर्कको फिफ्थ एभिन्यूस्थित ट्रम्पको गगनचुम्बी भवनअगाडि कन्क्रिटका अवरोध र अन्य सुरक्षाका साधनहरु राखेका थिए।

सत्ता हस्तान्तरण हुने बेलासम्मका लागि उक्त भवनमा ट्रम्पको कार्यालय रहने ठानिएको छ । – बीबीसी

protest-against-trump-1 protest-against-trump-2 protest-against-trump-4 protest-against-trump-11 protest-against-trump-14

 

यसमा तपाईको प्रतिक्रिया