पार्टी राजनीतिक संकटमा फसेको र कलंकको टिका लागेको भन्दै माओबादी केन्द्रको बैठकमा प्रचन्डलाई नेताहरुद्वारा एमालेसंग सम्बन्ध बनाउन आग्रह

काठमाडौ, २५ कात्तिक–सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टी गम्भीर राजनीतिक संकटमा फस्दै गएकोमा चिन्ता ब्यक्त गरेका छन् । पार्टी हेडक्वार्टरको बिहीवार बसेको बैठकमा नेताहरुले राजनीतिक मुद्दामा असफल हुँदै गएकाले संकट बढेको दावी गरेका छन् ।

पार्टी हेडक्वार्टरको बैठकमा उनीहरुले सरकारका कामकै कारण पार्टीमाथि सार्वजनिक आलोचना बढेको र भारत परस्त पार्टीका रुपमा लागेको आरोप मेट्नै नसकिने अवस्थामा पुगेको वताए । स्थानीय निकायको चुनाव नगरी पार्टी सरकारबाट बाहिरिनु पर्ने अवस्था आए पार्टीको अस्तित्व नै मेटिने र माओवादीमाथि कलंकको टीका लाग्ने उनीहरुको भनाई थियो ।

संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी दल एमालेसँग सहमति लिन र उसँग् तिक्तता नबढाउन नेतृत्लाई सदस्यहरुले सुझाव दिए ।

‘एमालेसँग तिक्तता बढ्न दिनु हुँदैन, स्थानीय निकायको चुनाव नगरी सरकारबाट बाहिरिने अवस्था आयो भने माओवादीमाथि कलंकको टीका लाग्ने मात्रै होइन पार्टीको अस्तित्व नै संकटमा पर्छ’ बैठकलाई उद्धृत गर्दै एक नेताले भने, ‘संविधान संशोधनमा एमालेको सहमति लिएर अघि बढ्न सुझाव दिएका छौं ।’

‘संविधान संशोधनका लागि दुई तिहाइ मत आवश्यक छ, त्यसका लागि एमालेसँग समझदारी बढाउने प्रयास गर्नु पर्छ भन्ने कुरा भएको छ’ बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता पम्फा भुसालले भनिन् । बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनबारे पनि नेताहरुले धारणा राखेका थिए ।

पार्टी हेडक्वार्टरको बैठक सकिएपछि प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यसूची बनाएका छन् । स्रोतका अनुसार दाहाल र ओलीबीच अपरान्ह ४ बजे सभामुख ओनसरी घर्तीको कार्यकक्षमा छलफल तय भएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया