स्तन क्यान्सर जितेकी नर्स भन्छिन्– सुजाता कोइरालाले मागेको रकमले २० जनाको उपचार हुन्छ

nars-kyansar
धेरै वर्षअघिको कुरा हो । एउटा पहाडी गाउँमा वृद्धमात्रै बस्थे । खरले छाएको घर चुहिने भइसकेको थियो । धेरै गाउँ चहारेर उनले एकजना घर छाउने मान्छे खोजेर ल्याएछन् । डाँडा–भाटा, चोया आदि ठिक्क पारेर ती छाउने मानिसलाई धुरीमा उकालेछन् । धुरी मार्ने बेलामा घर छाउने मान्छेको हातमा चसक्क केही बिझेजस्तो भयो र घाउबाट रगत पनि आयो । उनले सोचे– चोया–सोयाले घोच्यो होला । उनले खासै वास्तै गरेनन् र त्यो कुरा घरधनीलाई पनि सुनाएनन् । बिना ओखतीमूलो नै घाउ निको भएर गयो ।
केही वर्षपछि छानो पुनः कमजोर भयो । हिउँदको समय भएकाले वृद्धले कोही घर छाउने मान्छे पाएनन् र तिनैलाई बोलाउनुपर्‍यो ।
घर छाउने खरको मुठो बोकेर के धुरीमा चढेका थिए, तिनले अनौठो दृष्य देखे– धुरी मारेको ठाउँमा त खरसँगै सर्पको अस्थिपञ्जर चोयाले कसिएको थियो ।
उनको हातमा चोयाले घोचेको होइन, पहाडी क्षेत्रमा पाइने धेरै विष नभएको सर्पले पो टोकेको रहेछ !
हातमा सर्पले टोकेको थाहा पाउनेबित्तिकै केही नभएका ती व्यक्ति अताल्लिएर छानाबाट खसे अनि तुरुन्तै मरे ।
कथाको अन्तर्य के हो भने मानिसको फिजिक्स र साइकोलोजी एकआपसमा निकै अन्तरसम्बन्धित विषय हुन् ।
० ० ०
मेरी आमालाई ३० वर्षअघि पाठेघरको मुखको क्यान्सर भयो । संक्रमण पहिलादेखि नै थियो होला, तर त्यो धेरैपछि थाहा भयो । सामान्यतः पाठेघरको क्यान्सर महिनावारी रोकिएपछि थाहा हुन्छ ।
६० वर्ष पूरा भइसकेकी आमाको नछुने रोकिएको धेरै समय बितिसकेको थियो । तर, अचानक ‘ब्लिडिङ’ भएपछि आमा अताल्लिनु भएछ– ला ! मत नछुने भएजस्तो छ, के भएको होला मलाई ?
म काठमाडौंमै थिएँ त्यतिबेला, उहाँ यसो भयो भनेर काठमाडौँमै आउनुभयो । महिनावारी रोकिइसकेको मान्छेमा पुनः रगत देखा पर्नु भनेको खतराको संकेत हो । त्यसैले मैले ढिला नगरी आमालाई उपचारको प्रबन्ध मिलाउन थालेँ ।
नेपालमा त्यतिबेला क्यान्सर अस्पताल थिएन । उपचार गर्न भारत नै पुर्‍याउनुपर्ने भयो । कलकत्तामा आफन्तहरू थिए । उनीहरूले नै मलाई सुझाव दिए– यहाँ पाठेघरको क्यान्सरको उपचार राम्रो हुन्छ, कलकत्ता ल्याउनुहोस् । नर्स छोरीले सबै उपचारको व्यवस्था मिलाइहाल्छे ठानेर आमा ढुक्क देखिनुभएको थियो । वास्तवमा हामीले आमालाई तपाईंलाई यस्तो भएको रहेछ भनेर पनि भनेनौँ । हामी सकेसम्म आमाको मनोविज्ञान कमजोर नहोस् र रोग प्रतिरोधात्मक क्षमतामा ह्रास नआओस् भन्ने चाहन्थ्यौं ।
क्यान्सरको चार स्टेजमध्ये आमाको तेस्रो (बी) स्टेजमा पुगिसकेको रहेछ । तीन महिना उपचार गर्‍यौँ । रेडियोथेरापी पनि दियौँ । कलकत्तामै मैले चिकित्सकलाई सोधेको थिएँ– आमाको प्रोग्नोसिस के कस्तो हुन्छ ? चिकित्सकले भनेका थिए– बढीमा पाँच वर्ष बाँच्नुहुन्छ आमा, त्यो पनि तिम्रो भाग्यमा भर पर्छ !
आमा क्यान्सर रोग उपचारपछि २८ वर्ष बाँचेर ९५ वर्षको उमेरमा पोहोर स्वर्गवास हुनुभयो ।
उपचारको क्रममा धेरैले सुनाएछन्– यो उमेरमा किन उपचार गर्न आउनुभएको ? तर, आमाले ठान्नुभएको थियो– छोरीले निको हुन्छ भनेकी छे, सबै कुरा छोरीले गर्छे ।
ढुक्क हुनुभएको थियो आमा । आमाको आत्मविश्वास देखेर निकै खुसी भएका थियौँ हामी ।
० ० ०
गत फागुनको कुरा हो, शनिबार बिहानै नुहाउँदै थिएँ । ब्रेस्टमा अस्वाभाविक गिर्खा (मासुको डल्लो) भेटेँ । सोचें– यो मासुको डल्लो त यसअघि देखिँदैनथ्यो, कसरी देखा पर्‍यो ? फेरि दुख्दा पनि दुख्दैन ।
शरीरको जुनसुकै भागमा नदुख्ने गाँठागुँठी र मासुका गिर्खाहरू फेला पर्नु क्यान्सर रोगकै लक्षण हो । तत्कालै मेमोग्राम गराएँ । गिर्खा देखा परेको १०–१२ दिनमै मैले उक्त परीक्षण गरेको थिएँ । मेमोग्रामको रिपोर्टमा शंका सही सावित भयो । काखीमा लिम्फनोडसहित क्यान्सरको सेल देखा पर्‍यो ।  म नर्समात्रै होइन, नर्सिङ प्राध्यापन पनि गर्छु । तथापि सुरुमा म पनि हडबडाएँ । यो रोगको उपचार सरकारी अस्पतालमा पनि हुन्थ्यो, तर म हरिसिद्धिस्थित निजी क्यान्सर अस्पतालमा उपचार गराउन गएँ ।
त्यहाँ सुरुमा एफएनएसी गरेँ । त्यहाँ पनि  क्यान्सर सेल देखा पर्‍यो । ढिला नगरी त्यसको दुई दिनमै ब्रेस्ट सर्जरी गरियो ।
मैले सर्जरीको अघिल्लो दिनसम्म पनि पतिलाई ब्रेस्ट क्यान्सर भयो भनेकी थिइनँ । सोचेँ– क्यान्सरको सुरुआती चरण हो भनेर मलाई पो थाहा छ, उहाँ श्रीमतीलाई क्यान्सर भएछ भनेर आत्तिने पो हो कि !
सर्जरीको दिनमात्रै उहाँलाई थाहा भयो– ए ! क्यान्सर पो भएको रहेछ । त्यो थाहा पाउँदा पनि उहाँको अनुहारमा कुनै बदलाव आएन । वास्तवमा बिरामीलाई परिवारका सदस्य एवं आफन्तले यसरी नै हौसला प्रदान गर्ने र आत्मविश्वास बढाइदिने हो ताकि बिरामीमा रोगविरुद्ध लड्ने शक्ति प्राप्त होस् ।
स्तन क्यान्सर भए÷नभएको हामी आफैँले थाहा पाउन सकिन्छ । स्तनको मुन्टो भित्र पस्नु, स्तनमा गिर्खा र गाँठागुँठी देखा पर्नु, स्तनको आकारमा परिवर्तन हुनु नै स्तन क्यान्सरको लक्षण हो ।
मुन्टाबाट रगत वा पिप बग्न थाले, स्तनको छालामा सुन्तलाको बोक्रामा जस्तो स–साना प्वाल देखिन थाले ढिला नगरी जँचाउन गइहाल्नुपर्छ । त्यो खतराको संकेत हो ।
रेडियोथेरापी, केमोथेरापी, हर्मोनथेरापी आदिको माध्यमबाट स्तन क्यान्सर रोगको निवारण गरिन्छ । उपचार पाए क्यान्सरको तेस्रो स्टेजसम्मको बिरामी बाँच्छन् र यो सबै उपचार नेपालमै छ ।
क्यान्सरपीडित बिरामीले धुम्रपान नगर्ने, चिल्लो तथा बोसोयुक्त खाना कम खाने गर्नुपर्छ, तौल नियन्त्रण गर्नुपर्छ । फलफूल, सागसब्जी र रेसादार खाना दिनहुँ खानाले रोगले दिने पीडा कम गर्न सकिन्छ ।
रोग लाग्यो, अब म मरिहाल्छु भनेर सोच्नु हुन्न । दुनियाँमा अजम्मरी को छ र ! हर्ट अट्याक्जस्तो तुरुन्तै मारिहाल्ने रोग पनि होइन यो ।
० ० ०
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले ब्रेस्ट क्यान्सर भयो भनेर विदेश उपचार गर्न जान राज्यसँग एक करोड पैसा मागेको सुनेँ । मेरो उपचारमा जम्माजम्मी सात लाख खर्च भएको हो । सरकारी अस्पतालमा उपचार गरेको भए त्यति खर्चसमेत लाग्दैनथ्यो, साथै केही अनुदान पनि पाइन्थ्यो । त्यसकारण नेतृ सुजाताले मागेको त्यो रकम निकै बढी हो । उहाँले मागेको पैसाले त १५–२० जना ब्रेस्ट क्यान्सरका रोगीको उपचार गर्न सकिन्छ । उनीहरूको जीवन रक्षा गर्न सकिन्छ ।
स्तन क्यान्सर भएकै नाताले सुजातालाई म अर्को के भन्न चाहन्छु भने उहाँले ढिला गर्नुहुँदैन । उहाँले अघिल्लो साल पनि मेमोग्राम गर्नुभएको भन्ने सुनेको छु । पोहोर केही नदेखिएको यसपालि क्यान्सर देखिएको भए क्यान्सरको सुरुआती चरण हो त्यो । बेलैमा उपचार गरे उहाँलाई दुःख हुँदैन । डायग्नोसिस हुनेबित्तिकै उपचार गरिहाले क्यान्सरबाट छिट्टै छुटकारा पाउन सकिन्छ, क्यान्सर निको नहुने असाध्य रोग हुँदै होइन । पत्ता लाग्नेबित्तिकै त ट्युमर फालेमात्रै पनि हुनसक्छ । टिस्युहरूमा छोयो, फैलियो भनेमात्रै ब्रेस्ट नै काटेर फाल्नुपर्ने हुन्छ ।
० ० ०
नेपालमा धेरै क्यान्सर अस्पताल निर्माण भइसकेका छन् । विश्वले नै राम्रो मानेको चिकित्सा, नर्सिङ शिक्षा पद्धति हामीकहाँ छ । त्यसैले नेताहरू हाच्छिउँ आए पनि विदेश कुद्ने परिपाटी राम्रो भएन । यहाँको चिकित्सा शिक्षालाई विश्वास नगरेको ठहरिन्छ त्यो । एक त मुलुक विपन्न छ, अर्को यहाँका अधिकांश जनता गरिबीको चक्रव्यूहमा छन् । यस्तो गरिब मुलुकले यत्रा नेताहरूको उपचार खर्च कसरी थेग्न सक्छ ? अस्ति भर्खर पूर्वराष्ट्रपति रामवरण यादव प्रोस्टेटको उपचार गर्न अमेरिका जानुभयो । त्यो रोगको उपचार नेपालमै सम्भव थियो ।
सामान्य रोगको उपचारका लागि राज्यसँग पैसा माग्ने र विदेश जाने परिपाटीले हाम्रो चिकित्सा सेवालाई सर्वसाधारणले कसरी विश्वास गर्नसक्छन् ? कि जनता मरे नि मरुन्, हामी जसरी पनि बाँच्नुपर्छ भन्ने उहाँहरूको नीति हो ?
नेताहरूलाई उपचार गर्न राज्यकोषबाट पैसा दिने परिपाटी तुरुन्त बन्द गरिनुपर्छ । राज्यलाई दलका नेताहरूलाई दिने पैसा अस्पतालको वृद्धि र विकासका लागि खर्चने हो भने नेताहरूलाई मात्रै होइन, जनतालाई पनि बचाउन सकिन्छ ।  हामीले सुन्छौँ– उपचार गर्दाको बिल तिर्न नसकेर बिरामीले अस्पतालको छतमा पुगेर आत्महत्या गरे । नेताहरूलाई उपचारका लागि दिइने पैसा विपन्न जनतालाई दिने हो भने बरु हितकर हुन्छ ।
मलाई पनि नर्सिङ एसोसिएसनले एक लाख २५ हजार उपचार सहयोग दिन्छु भनेको थियो । तर, त्यो पैसा मैले मेरो उपचारको लागि लिएको छैन । बरु त्यो रकमलाई क्यान्सर रोग निवारणका लागि अक्षय कोषको रूपमा विकास गर्ने सोच बनाएको छु । हामीकहाँ हुनेले अतिरिक्त सुविधा लिने र नहुनेलाई थप व्ययभार थुपार्ने प्रचलन ज्यादा भयो । यो अन्त्य गर्नुपर्छ अब ।
० ० ०
अधिक मोटोपना भएका, लामो समयदेखि इस्ट्रोजेन सेवन गरेका, अधिक धुम्रपान तथा मद्यपान गर्ने, बढी चिल्लो तथा बोसोयुक्त खाना खाने महिलाहरूमा स्तन क्यान्सरको जोखिम ज्यादा हुन्छ । त्यस्तै धुँवा, धुलो प्रदूषण, अव्यवस्थित जीवनशैली, खानपान, व्यायामको कमी पनि स्तन क्यान्सर जन्माउने कारक तत्व हुन् ।
विवाहित महिलालाई मात्रै स्तन क्यान्सर हुने होइन । विवाह नगरेका, बच्चा नजन्माएका, बच्चा पाएर स्तनपान नगराएहरुलाई पनि स्तन क्यान्सर हुन्छ, भएको छ । हरिसिद्धिमा उपचारकै क्रममा एक १४ वर्षीया किशोरी पनि स्तन क्यान्सर भयो भनेर उपचारका लागि आएकी थिइन् । त्यसैले जुनसुकै उमेर, वर्ग र पेशाका मानिसलाई पनि स्तन क्यान्सरको खतरा हुन्छ ।
० ० ०
क्यान्सर राग लाग्यो भनेर आत्तिनु हुँदैन । क्यान्सर रोग जितेर पुनर्जीवन पाएका थुप्रै उदाहरण छन् । बेलैमा पहिचान भयो भने क्यान्सर सहजै निको पार्न सकिन्छ ।
विकासोन्मुख मुलुकमा मात्रै होइन, विकसित देशमा पनि क्यान्सर रोग उत्तिकै देखापर्न थालेको छ । क्यानडामा त हरेक ८ महिलामध्ये एकमा स्तन क्यान्सर हुने गरेको तथ्यांक हामीले पढ्छौँ । क्यान्सर रोगको रोकथाम गर्ने तरिका भनेको अभिमुखीकरण पनि हो । नर्स भएको कारणले भन्छु, हरेक विद्यालयमा स्कुल हेल्थ नर्स राखिनुपर्छ । विकसित देशमा पनि यो अभ्यास छ । ती नर्सले विद्यार्थीहरूलाई चेतना जगाउँछन् । गाउँ–गाउँमा स्वास्थ्य सन्देश पुर्‍याउन मद्दत पुर्‍याउँछन् ।
भनिन्छ– रोग र ऋण पाल्ने कुरा होइन, जतिसक्यो चाँडो यसलाई फाल्नुपर्छ । अर्को रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु निको हो । प्रत्येक महिलाले आफ्नो स्तन आफैँ जाँच्नुपर्छ । स्तनमात्रै होइन, शरीरका सबै अंगबारे चनाखो हुनुपर्छ । आफूमा देखिएको समस्या लुकाउनुहुँदैन । त्यसकारण खानपान, आनीबानीमा ध्यान पुर्‍याउनुपर्छ । रोगबारे आफैँ सचेत हुने, समय–समयमा स्वास्थ्य परीक्षण गर्ने गर्नुपर्छ ।

 

यसमा तपाईको प्रतिक्रिया