लोकमान विरुद्धको छलफल अघि बढ्दै, बोल्न चाहने जति सांसदलाई समय

काठमाडौं २६ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि व्यवस्थापिका संसद्मा आजबाट फेरि छलफल अघि बढ्ने भएको छ । बिहान ११ बजे बोलाइएको बैठकमा अख्तियार प्रमुख ९निलम्बित० कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ । अघिल्लो बैठकबाटै जारी छलफलमा अधिकांश सांसदले कार्कीविरुद्धको महाअभियोग पारित गर्नुपर्ने धारणा राखेका छन् ।
महाअभियोगमाथिको पहिलो छलफल गत ९ कात्तिकमा भएको थियो । सो छलफलमा १४ जना सांसदले आफ्नो भनाइ राखेका थिए । महाअभियोग माथिको छलफलमा भाग लिन ३८ जना सांसदले नाम टिपाइसकेका थिए । नाम टिपाउनेलाई रोलक्रमअनुसार आजदेखि बोल्न दिइनेछ ।
सभामुख ओनसरी घर्ती मगरले महाअभियोगमाथिको छलफलमा भाग लिन चाहने अन्य सांसदलाई पनि समय उपलब्ध गराउने भएकी छन् । महाभियोगको विषयमा संसद्मा व्यापक छलफल होस् भन्ने मान्यताका साथ सभामुखले इच्छुक सबै सांसदलाई बोल्न दिन लागेकी हुन् ।
महाअभियोग माथिको छलफलमा बोल्न चाहने जति सांसदलाई समय दिइने हुँदा महाअभियोगमाथिको छलफल कति समयसम्म चल्छ भन्ने एकिन नभएको संसद् सचिवालयले जनाएको छ ।
यता महाअभियोग सिफारिस समितिले कार्यविधिलाई अन्तिम रूप दिएको छैन । उपसमितिले तयार गरेको कार्यविधिलाई अन्तिम रूप दिन आज नै बैठक बोलाइएको छ ।
संसद्मा महाअभियोगमाथिको छलफल सकिनासाथ महाअभियोग सिफारिस समितिले आफ्नो  कार्यविधिलाई टुंगो लगाउने तयारी गरेको छ । महाअभियोग सिफारिस उपसमितिले गत १० कात्तिकमा प्रतिवेदन पूर्णसमितिमा बुझाएको थियो । पूर्णसमितिले कार्यविधिमाथि छलफल गर्न आजसम्म बैठक स्थगित गरेको थियो । संसद्मा महाअभियोग प्रस्तावमाथिको छलफल सकिएपछि अनुसन्धानका लागि महाअभियोग सिफारिस समितिमा पठाउनेछ । महाअभियोग सिफारिस समितिले काम थालेको ३० दिनभित्र आफ्नो सुझावसहितको प्रतिवेदन संसद्मा पठाउनेछ भने काम थालेको एक साताभित्र महाअभियोग लगाइएका व्यक्ति कार्कीलाई सफाइको मौका दिइनेछ ।
अख्तियार प्रमुख कार्कीविरुद्ध गत ३ कात्तिकमा १ सय ५७ जना सांसदले हस्ताक्षर गरी महाअभियोग प्रस्ताव संसद्मा दर्ता गरिएको थियो ।

 

यसमा तपाईको प्रतिक्रिया