सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

काठमाडौं, २६ कात्तिक । सरकारको सय दिन पूरा भएको अवसरमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री दाहालले दिनको ४ बजे प्रधानमन्त्री कार्यालयबाट विशेष सम्बोधन गर्न लागेका हुन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पूर्वी क्षेत्र र मोरङ जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई सामूहिक निर्देशन दिएका छन् ।

शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट बिराटनगर पुगेका प्रधानमन्त्रीले सामूहिक निर्देशन दिएका हुन् । निर्देशनमा क्रममा प्रधानमन्त्री दाहालले भने, ‘हामी विकासका दृष्टिले पछि परेका छौं । तर विकासका काममा खर्च गर्न सकिरहेका छैनौं । यो स्थितिको अन्त्य हुनुपर्छ। राष्ट्रिय गौरवका अायोजना समयभन्दा अगावै सम्पन्न गर्न म क्रियाशील छु । मैले देशको समृद्धिलाई केन्द्रमा राखेर काम गर्न विशेष निर्देशित गर्दछु ।’

उनले अगाडि भने, ‘प्रतिस्पर्धा गरौं, तर नराम्रोका लागि होइन, राम्रोका लागि प्रतिस्पर्धा गरौ । समयमै गुणस्तरीय काम गर्ने अायोजना र कर्मचारीलाई पुरस्कृत हुनेछ । राम्रोका लागि प्रतिस्पर्धा गर्ने वातावरण बनाउन सरकार गम्भीर छ ।’

प्रधानमन्त्रीले संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जानू सरकारको संकल्प रहेको भन्दै संविधान कार्यान्वयन नभएर देश राजनीतिक र संवैधानिक संकट अाउन नदिन सरकार संवेदनशील रहेको बताए । अाजको युग विकासका लागि प्रतिस्पर्धाको युग भएको भन्दै नेपालमा पनि विकास र समृद्धिमा प्रतिस्पर्धा गर्नु अनिवार्य भएकोमा प्रधानमन्त्रीले जाेड दिए ।

यसमा तपाईको प्रतिक्रिया