“हाम्रै छातीमा बुट र लाठि बर्साउन प्रचण्ड लाइ महलमा पुर्याएका रहेछौ” -पुर्व लडाकु(हेर्नुहोस के भन्छन अयोग्य घोषित पुर्व लडाकुहरु)

महिनामा एक लाख तलब भन्दा बढी तलब बुझ्छन प्रधानमन्त्री प्रचण्ड । तर हामी दवाई किन्ने  पैसा नभएर रोग पालिरहेका छौं । आधी बाँचेका छौं,आधा मरेका छौं ।   प्रधानमन्त्री प्रचण्ड अहिले महलमा पुगे आफ्नो विगत बिर्सिए । हामी त केवल भर्याङ भयौं । हाम्रै ढाडमा टेकेर उनी अहिले प्रधानमन्त्रीको आसनमा छन ।  हामी अयोग्य लडाकु भनि हुर्याइयौं,फालियौं । आज न्याय खोज्न आँउदा हाम्रो छात्तीमा बुटमा बजारीयो,लाठीले हानियो ।

रेश्मी शाही, मुग

अहिले यस्तो होला भन्ने सोचेकी थिइन । म त्यतिबेला १४ वर्षकी थिएँ । कुरा २०६० सालको हो । म बाध्यताले युद्धमा लागेकी थिएँ । देशमा राजाको अत्यचार सहन नसकेर युद्धमा होमिएको थिए ।  देश परिवर्तन गर्ने जोसले घरका सदस्यहरुको वास्ता भएन । मेरो कलिलो उमेर युद्धमै मिसिन पुग्यो ।

कुलप्रसाद भट्टराई

हामी युवा देश परिवर्तनका लागि युद्धमा होमिएका थियौं । त्यसभित्रको एक म पनि थिए । विकट जिल्लामा बसेकाले होला, मलाई युद्धमा होमिने हुरी चल्यो । १४ वर्षको उमेरमा तत्कालीन माओवादीमा जनयुद्धमा होमिन पुँगे ।
सायद द्वन्द्वको समयमा सबैभन्दा धेरै युद्ध लड्नेमध्येमा म पनि एक हुँ । ०५८ सालपछिका ठूला युद्धमा मैले गोलीबारुद बर्साएको छु । थानकोटको चौकी आक्रमणदेखि बैतडीसम्म । म्याग्दीको बेनी आक्रमणदेखि रुकुमको खारासम्म । म सबैतिर पुगेको छु । ती सबै युद्धमा लडेको योद्धा हुँ म ।

सुप्रिम कमाण्डरको अघि पछि बन्दुक बोकेर हिँड्दा गर्व लाग्थ्यो । तर, प्रचण्ड सरकारले अहिले मलाई अयोग्य भनेर हटाएको छ । उनलाई के थाहा ? ०६० सालमा बेनीमा भएको लडाइँमा करङको पातामा लागेको गोली अझै अड्किएको अड्किएकै छ । उपचार नपाएर दौडिइरहेको छु । आफ्नो गोजीबाट ४ लाख रुपैयाँ सकिइसक्यो, तर गोली निकाल्न सकेको छैन । मलाई अरु केही चाहिँदैन, यो गोली निकाल्न पाए हुन्थ्यो । कति दिन पीडा सहेर बसौं ?

रुकुम र रोल्पा,म्याग्दी, अछाम र पिलीदेखि धनगढीसम्मका सबै मोर्चामा देश परिवर्तनका लागि लडेँ । २०६२ असार महिनामा मलाई बमले भण्डै उडाई लग्यो तर जसोतसा बाँचे । अहिले यस्तो हालतमा छुँ । मेरो दाहिने हात राम्रोसँग चल्दैन । शरीरका अंगहरु पनि ठाउँ ठाउँमा जलेका छन् । तर, अहिले यसरी सडकमा बस्नुपरेको छ । जनयुद्धले हामीलाई यही दियो ।

मैले प्रचण्डसँग दुईपटक भेट गरिसकेको छुँ । दुबैपटक हामीलाई प्रशिक्षण दिन आएका थिए । तर, उनले बस्ने महल पाएपछि हाम्रो योगदानलाई बिर्सिए । हामीलाई त्यस्तो महल चाहिँदैन, महिनामा एक बोरा चामल खाने व्यवस्था मिलाइदिए पुग्छ ।

तारा गुरुङ, ताप्लेजुङ

अहिले समाजमा मुख देखाउन सकेको छैंन । त्यतिबेला प्रचण्डको भाषण सुन्दा भविष्य बन्यो भन्ने लागेको थियो । मैले प्रचण्डलाई पहिलापटक बिराटनगरमा देखेकी हुँ । दोस्रो पटक धनगढीमा देखेँ । अहिले,अयोग्य लडाकु भनेर हामीलाई कसैले काम पनि दिँदैनन् । समाजको व्यवहार देखेर मन खिन्न भएर आउँछ । अरु के भन्नु ? मनमा शव्द हजार छन् तर भनेर के गर्नु ।

राधा चँदरा, सुर्खेत

पहिलोपटक सरकारमा जाँदा एमाले र कांग्रेसले काम गर्न दिएन भन्थे, होला त नि भनियो । तर उल्टै मलाई नै सुप्रिम कमाण्डर प्रचण्डले नै लाठी हाने ? आफ्नो कलिलो उमेरजति युद्धमा गयो, अहिले पार्टीका नेताहरु महलमा बसेर हामीलाई अयोग्य भन्दै लाठी हान्न लगाउँदैछन् । अहिले पाँच बर्षको छोरालाई काखीमा च्यापेर सडक पेटीमा धर्ना बस्दै छु । मलाई केही चाहिँदैन,जीवन धान्ने कुनै उपायको व्यवस्था गरियोस् ।

 

यसमा तपाईको प्रतिक्रिया