नेपाल छोड्दै गर्दा सबैलाई भाबुक बनाए लिलामणिले: “देश इतिहास मै सबैभन्दा कमजोर भयो अहिले, अब रेल र तेलमा पहल गरौ”

२६ कात्तिक । पूर्वमुख्यसचिव लीलामणि पौड्याल नेपालको राजदूत भएर बेइजिङ जाने अन्तिम तयारीमा छन् । आगामी बुधबार बेइजिङ जान लागेका उनको दौडधुप निकै बढेको छ ।lilamani
बेइजिङ जान लाग्दा पौड्याललाई नेपालको हितमा काम गर्नू भन्दै सुझाव र बधाई बधाई दिन कार्यक्रहरु आयोजना भइरहेका छन् । ‘नेपाल–चीन हिमालयन फ्रेन्डसीप सोसाइटी’ले उनको सम्मानका एक कार्यक्रमको आयोजना गरेको थियो । त्यस कार्यक्रममा पूर्व सभामुख एवं नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, केही पूर्व मन्त्रीहरु पनि उपस्थित थिए ।

आयोजक संस्थाका अध्यक्ष एवं पूर्व पर्यटनमन्त्री आनन्द पोख्रेलले सम्मान गर्ने क्रममा पौड्याललाई स्वच्छ छविका प्रशासक भन्दै हौस्याएका थिए । प्रमुख अतिथि नेम्वाङ बोल्नुभन्दा अघि आफ्नो मन्तव्य राखेका पौड्यलले सुरुमै रहरले नभई केही गर्ने चाहनाले राजदूत भएको बताए । राजदूत बन्न कुनै पनि नेताको घर–दैलो नचाहरेको भन्दै उनले भने– ‘राजदूत पद पाएँ भनेर रमाइलोका लागि म चीन जान लागेको होइन, केही राम्रो काम गर्न सकिन्छ कि भनेर जान लागेको हुँ ।’

उनले आफूलाई माओवादी नेतृत्वको सरकारले राजदूत बनाए पनि माओवादी भएर राजदूत नभएको समेत बताए । ‘हाम्रो प्राथमिकता रेल हो, तेल हो,’ उनले भने, ‘यो अमेरिका, जापान, फ्रान्स वा इन्डिया  आएर मागि दिने छैन । हामीले नै हो माग्ने हो ।’

राजनीतिक दल र नेताप्रति निकै आक्रमक बनेका पौड्यालले नेताहरुलाई डरछेरुवाको समेत संज्ञा दिए । ‘आफ्नो देशको विकास हामीले नगरेर अरु कसले गर्छ ?’ उनले भने, ‘चाइना हाम्रा लागि अवसर हो, चाइनासँग सहयोग गर्ने तत्परता पनि छ । तर, हामीसँग लिने तत्परता छैन । हामी माग्न डराइरहेका छौँ ।’

पौड्यालले राजदूत भएपछि अवसरको सदुपयोग गर्न प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । ‘हामीलाई अहिले चाहिएको तेल र रेल हो । तर, हामी राज्यका एजेण्डा राख्न लक्पकाएका छौँ,’ उनले भने, ‘मैले अघि पनि भने, चाइना हाम्रो अवसर हो, त्यो मैले गर्न सक्छु कि सक्दिन, चिन्ता लागेको छ ।’

राजदूत पौड्यालले नेताहरु नलकपकाए आफू काम गर्न तयार रहेको पनि बताए । ‘यहाँ नेताहरु नलक्पकाउनु होला, राजदूत काम पूरा गर्न तयार छ,’ उनले भने, ‘चीन नेपाल शान्त र संवृद्ध होस भन्ने चाहन्छ । उसको चाहना मात्रै नेपालमा चीन विरोधी गतिविधि नहोस् भन्ने छ । यसमा ख्याल गर्नुहोला ।’

पौड्यालले चीन दिन तयार भए पनि नेपालले लिन नजानेको पनि आरोप लगाए । ‘समस्या चीनतिरबाट होइन, हामीबाट भएको छ,’ उनले भने, ‘अहिले वैदेशिक नीति पार्टीको एजेण्डा बनाउँदा समस्या भएको छ । वैदेशिक नीति पार्टीको एजेण्डा हुँदै होइन, राष्ट्रको एजेण्डा बनाउनुपर्छ । ’

सयौँ लगानीकर्ता भेट्टाएको छु
पौड्यालले चीन नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । ‘मैले सयौँ लगानीकर्ता भेट्टाएको छु,’ उनले भने, ‘तर, यहाँको वातावरण ठीक छैन । चाइनिजहरु यहाँ आउँदा आधा र काम सुरु गर्दा पूरै पागल भएर फर्किन्छन् । त्यसैले उनीहरु डराएका छन् ।’

मलाई प्रयोग गर्नुहोस्

राजदूत पौड्यालले आफू राजदूत भन्दा पनि नेपालको एजेन्टका रुपमा चीन जान लागेको बताए । ‘यहाँ धेरै समस्या छन्, लगानीमा पनि समस्या छ,’ उनले भने, ‘यस्तो बेलामा मलाई प्रयोग गर्नुहोला म एजेन्टका रुपमा काम गर्छु । मलाई अरुको परिवार होइन, आफ्नै परिवार सम्झिनु म काम गर्न तयार छु ।’

अहिलेको जस्तो कमजोर नेपाल कहिल्यै थिएन

संविधान जारी गर्दाताकाका सभामुख नेम्वाङलाई छेउमै राखेर पौड्यलले नेपाल इतिहासमा सबै भन्दा कमजोर भएको दाबी गरे । ‘नेपाल सन् १८१६ मा बनेको हो । तर, अहिलेको जस्तो कमजोर राज्य कहिल्यै बनेको थिएन,’ उनले भने, ‘मलाई धेरै चिन्ता लागेको छ । देशको स्वाधीनता र एकीकृत राज्यको हैसियत के हुने हो भन्नेमा समेत आशंका पैदा भएको छ ।’

कमजोर राज्य भित्र कुनै दल बलियो हुँदैनन

राजदूत पौड्यालले दल बलियो होइन, राज्य बलियो बनाउन राजनीतिक दलका नेताहरुलाई सुझाव दिए । ‘कमजोर राज्यभित्र कुनै पनि दल बलियो हुँदैनन्,’ उनले भने, ‘राज्य बलियो भयो भने मात्र दल बलियो हुन्छन् । त्यसैले राज्य बलियो बनाउन लाग्नु होला ।’ उनले राज्य कमजोर भए राजदूत पनि कमजोर हुने भन्दै भने– ‘राज्य बलियो नेताहरुले बनाउनु होला । त्यसपछि हामी राजदूतहरु त्यसै बलियो हुन्छौँ ।’

अहिले माओवादी कता छ ?

पौड्यालले दल बलियो हुनु अस्थायी हुने भन्दै पहिला राज्य बलियो हुनु पर्ने तर्क गरे । ‘कुनै समय कांग्रेस–एमाले निकै बलिया थिए । पछि माओवादी निकै बलियो बन्यो,’ उनले भने, ‘कुनैबेला बलियो बनेको माओवादी अहिले हेर्नुहोस त कहाँ छ ?’

यसमा तपाईको प्रतिक्रिया