प्रधानमन्त्री भन्छन्– हैसियत नभएका मान्छेले फेसबुकमा जे मन लाग्यो त्यही लेखे

pm-prachanda-serious
काठमाडौं, २६ कात्तिक – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल फेसबुकको प्रयोगमा संयमता नअपनाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सरकार गठन भएको १०० दिन पुगेको अवसरमा पत्रकारसँग बोल्दै फेसबुकको प्रयोग नकारात्मक बन्दै गइरहेको बताए ।

‘कुनै हैसियत नभएका मान्छेले जे मन लाग्यो त्यही लेखिरहेका छन्,’ उनले भने, ‘त्यसैको पछि मान्छे दौडिँदा बुझाइमा समेत गलत धारणा बनिरहेको छ ।’ पत्रकारहरूले लेख्ने विषयमा सरकार जानकार रहने भएपनि सर्वसाधारण तथानाम लेख्ने विषयले आफूलाई चिन्ता लागेको उनले बताए ।

‘तपाईँ पत्रकारले लाइसेन्स लिनुभएको छ, समाउन चाहेमा समाउन पनि सकिन्छ,’ उनले भने, ‘पत्रकारले लेखेकोभन्दा तथानाम लेख्ने मान्छेका कुरा बढी भाइरल भए । गाह्रो भयो ।’ उनले फेसबुक प्रयोगकर्तालाई अत्यन्तै संयमता अपनाउन समेत अनुरोध गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया