प्रचण्डलाई प्रकाशको चिन्ता, बाबुराम लाइ मानुषी को चिन्ता- हाम्रो चिन्ता चाहि कसले गर्छ ?

मेरो नाम कुसुम भट्टराई । २०५८ सालमा १५ वर्षको उमेरमा माओवादीमा लागियो । पढ्ने बेलामा बन्दुक बोक्न बाध्य बनाईयो । बन्दुक बोक्न बाध्य बनाउनेहरु सत्तामा छन् । हामी भने पहिचान विहीन जीन्दगी बाँच्न विवश भयौं । माओवादीमा प्रवेश गरेको २ वर्ष नपुग्दै बेनीको आक्रमण भयो । उक्त आक्रमणमा परी गोली लाग्यो ।

६० साल देखि करंगको हड्डीमा गोली बोकेर हिडेको छु । त्यहाँ ज्यान त बच्यो तर गोलीले जीवन सिद्धायो । अहिलेसम्म सोही गोली निकाल्नका लागि ४ लाख सके । तर, गोली निकाल्न सकिएन । एन्टिबाइटिकका लागि मात्र उनले मासिक १५ सय खर्च गर्नुपर्छ । त्यसको चार वर्ष पछाडि ०६३ सालमा अयोग्य लडाकु सावित भए । हिजोका माओवादी सुप्रिम कमाण्डर आज देशको कमाण्डर भएका छन् । प्रचण्डलाई झक्काउन भनेर हामीजस्ता देशैभरबाट दुई सयभन्दा बढी अयोग्य लडाकू काठमाडौँ खाल्डोमा केन्द्रीत भएका हौं ।
हिजो संसार बदल्छौ भनेर छापामार बनियोे, अहिले घरको न घाटको भइयो । आफ्नै नेता सरकारमा हुँदा र आफूहरुको वेवास्ता हुँदा पीडा हुँदो रहेछ । जुन पार्टीका लागि हामीले जीवन बर्बाद पर्यौं, त्यही पार्टीले हामीमाथि अन्याय गर्यो । हिजो जसको आदेशमा जसका बिरुद्ध लडियो, आज उसैको आदेशमा दुश्मनले आफ्नै घरबाट खेद्दा चित्त त दुख्दो रहेछ ।
हामीले बन्दुक बोकेर उनीहरु नेता भए । नेता हुन नसकेका हामीले के गर्ने ?आखिर प्रचण्डलाई प्रकाशकै चिन्ता देखियो, बाबुरामले पनि मानुषीलाई युद्धकालमै राम्रो व्यवस्थापन गरेकै रहेछन् । हाम्रो व्यवस्थापन कस्ले गर्ने ?’ यो हामीजस्ता अयोग्य लडाकूको साझा प्रश्न हो ।
पेरिसडाँडाबाट खेदिएका हामी पूर्व लडाकूहरु माओवादी आन्दोलन नै छाडेर हिडेका बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी घेर्न आइपुगेका छौं । हामीलाई माओवादी बनाएर आफू गैरमाओवादी भएर उनले छुट पाउदैनन ।

 

यसमा तपाईको प्रतिक्रिया