प्रचण्डविरुद्ध झलनाथ खनालले ल्याए नयाँ प्रस्ताव : सिंहदरबारमा हल्लीखल्ली

काठमाडौं, २६ कात्तिक । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले पुष्पकमल दाहाल नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको भन्दै राष्ट्रिय सहमतिको सरकार निर्माणको प्रस्ताव गरेका छन् ।

राष्ट्रिय गठन नगरे मुलुकमा चुनाव हुनै नसक्ने ठोकुवा गर्दै खनालले राष्ट्रिय सरकार अहिलेको आवश्यक रहेको बताए । ‘अब चुनाव गर्ने हो र संविधान कार्यान्वयन गर्ने हो भने दलहरुवीच राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ,’ पत्रकार ऋषि धमलाको कुराकानीमा उनले भने ।

सरकारको १०० दिन असफल

नेता खनालले प्रधानमन्त्री पुष्पकमल दाहालले भनेजस्तो सरकारको १०० दिनमा कुनै ठोस उपलब्धि हासिल नभएको दाबी गरे । पूर्वप्रधानमन्त्री समेत रहेका एमाले बरिष्ठ नेता खनालले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले यो तीन महिनामा केही पनि काम गर्न नसकेको भन्दै सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाए ।

खनालले थपे– ‘सरकारले एउटा राम्रो काम गरेको उदाहरण छैन, त्यसैले यो सरकारको कुनै काम छैन, अब नयाँ सरकारको विकल्प खोज्नुपर्छ, राष्ट्रिय सहमतिको सरकार गठन नगरे मुलुकमा चुनाव हुन सक्दैन् ।’ सरकारले घोषणा गरेबमोजिम निर्वाचनको लागि अहिलेसम्म कुनै ऐन तथा कानूनहरु निर्माण गर्न नसकेको समेत उनको आरोप थियो । नेता खनालले थपे- ‘यी सबै हावादारी गफ हुन् ।’ यो तीन महिने कार्यकालमा सरकार आफ्नो प्रमुख जिम्मेवारीहरुमा चुकेको उनको गम्भिर आरोप छ ।

उनले भने- ‘सरकारको मूल्यांकन गर्ने साह्रै धेरै आधारहरु नै देखिएका छैनन ।’ संविधान जारी भएको यतिका दिन वितिसक्दा पनि सरकारले संविधान कार्यान्वयनमा कुनै गम्भिरता नदेखाएको उनको गुनासो थियो ।

दलहरुबीच सम्वाद गरेर सहमतिको वातावरण बनाउन पनि प्रचण्ड सरकारले क्रियाशीलता नदेखाएको खनालको आरोप छ ।

यसमा तपाईको प्रतिक्रिया