प्रधानमन्त्रीसँग भारतीय स्थल सेनाध्यक्षको भेट, बुटवलमा नयाँ पेन्सन क्याम्प

bhart-sena-dahal

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेएका भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंह सुहागले शनिबार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्रीले भारतीय सेनापतिलाई स्वागत गर्दै हालैको आफ्नो भारत भ्रमण, गोवाको ब्रिक्स–बिमिस्टेक सम्मेलनमा सहभागिता र भारतीय राष्ट्रपति प्रणव मूखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको बताएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले नेपाल संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पपछिको पूनःर्निर्माणसहित आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेकोे पनि बताए ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणमा तीनदिने नेपाल भ्रमणमा शुक्रबार आएका सुहागले प्रधानमन्त्रीसँगको भेटमा नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्ध थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।

भारतीय सेनाबाट सेवानिवृत्त नेपालीको पेन्सन लिने व्यवस्थालाई थप सहज बनाउन बुटवलमा नयाँ कार्यालयको स्थापना गर्न लागिएको उनले प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए ।

 

यसमा तपाईको प्रतिक्रिया