गृहजिल्ला पुगेर ओलीले भने- देश विकासको नेतृत्व अब एमालेले गर्छ

oli-jhapa

झापा (दमक), २७ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासको नेतृत्व अब एमालेले गर्ने बताउनुभएको छ । उहाँले मुलुकलाई समृद्धितर्फ लैजान एमालेले अगुवाइ गर्ने र त्यसलाई कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।

युवा सङ्घ नेपाल, दमक नगरकमिटीले आज आयोजना गरेको २०४५ सालअघिका अगुवा कार्यकर्तालाई सम्मान गर्दै अध्यक्ष ओलीले एमालेले लोकतन्त्र र समृद्धिको हितमा काम गरेकाले पनि जनताले एमालेको नेतृत्व चाहेको बताउनुभयो । आफ्नो नेतृत्वको सरकारले मुलुकको हितमा काम गरेको र आम जनतामा समृद्धिको आशा पलाएको उहाँको भनाइ थियो ।

देश र जनताको अहित हुनेमा एमाले कहिल्यै कसैसँग सहकार्य नगर्ने चर्चा गर्दै उहाँले भन्नुभयो – “एमाले कसैको स्वार्थका निम्ति साक्षी बस्दैन ।”

उहाँले सरकारले संविधान संशोधन गर्न एमालेले साथ दिएन भन्ने हल्ला गरेर संविधान कार्यान्वयन असफल गराउन सत्ताधारी दलहरु लागेको आरोप लगाउनुभयो । नयाँ संविधान एमालेका कारण मुलुकले प्राप्त गरेकोमा जोड दिँदै संविधान कार्यान्वयन गर्न अहिले नै संविधान संशोधन गर्न आवश्यक नभएको जिकिर गर्नुभयो ।

उहाँले थप्नुभयो – “एमाले संविधान कार्यान्वयन गराउन कहिल्यै विरोधी छैन । तर संविधान संशोधनको भने स्पष्ट कारण देखाउनुप¥यो नि ?” उहाँले संविधान संशोधन कसैको निहित स्वार्थका निम्ति भए त्यो कदापि आफ्ना लागि स्वीकार्य नहुनेमा जोड दिनुभयो ।

उहाँले सङ्घद्वारा सम्मानित दमक क्षेत्रका पार्टीका पुराना ६२ जना कार्यकर्तालाई दोसल्ला तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

सो कार्यक्रममा पूर्व कानुनमन्त्री अग्नि खरेल, युवा सङ्घका केन्द्रीय उपाध्यक्ष रमेश पौडेललगायतले बोल्नुभएको थियो ।

 

यसमा तपाईको प्रतिक्रिया