निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको प्रकरणमा आलटाल हुँदैन : सभामुख घर्ती

तिलोत्तमा (रुपन्देही), २७ कात्तिक । सभामुख ओनसरी घर्तीले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाभियोग प्रस्तावमा संसद्ले आलटाल नगर्ने बताएका छन् ।

महाभियोग प्रस्ताव प्रक्रियामा गइसकेकाले त्यो निरन्तर अघि बढ्ने भएको र कसैले शङ्का गर्न नहुने बताए । प्रेस सेन्टर रुपन्देहीले बुटवलमा आज गरेको पत्रकार सम्मेलनमा उनले कुनै कारणले महाअभियोग प्रस्ताव नरोकिने दाबी गरे । प्रक्रियागत रुपमा त्यो प्रस्ताव पार लाग्ने उनको भनाइ थियो ।

‘सबै प्रक्रिया पूरा गरी निर्णयार्थ पेस हुनेछ,’ उनले भने, ‘संसद्मा छलफल चलिरहेको छ, यो प्रक्रियामा अब आलटाल हुँदैन ।’ सभामुख घर्तीले राजनीतिक दल एक भएर संविधानको कार्यान्वयनमा लाग्नुपर्ने बताए ।

संविधान कार्यान्वयन गर्ने समयमा दलभित्र ध्रुवीकरण हुनु गलत भएको भन्दै छलफल गरेर असहमति हटाउँदै एक हुन उनले आग्रह गरे । उनले देश र जनताको आर्थिक विकासका लागि दलहरुले मिलेर अघि बढ्नुको विकल्प नभएको बताए ।

सभामुख घर्तीले दलहरु प्रतिस्पर्धामा उत्रिनु लोकतान्त्रिक पद्धति भए पनि अहिले त्यो समय नभएको बताए ।

 

यसमा तपाईको प्रतिक्रिया