मध्यराती होटलबाटै नेत्रविक्रम चन्द विप्लवका आठ कार्यकर्ता हराएपछि…

२८, कार्तिक  नेपाल बन्दको प्रंचारमा हिंडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ८ कार्यकर्तालाई प्रहरीले गएराति कलंकीबाट पक्राउ गरेको छ ।

बन्दको प्रचारका क्रममा कलंकीको एक होटलमा सुतेका बेला उनीहरुलाई राति ११ बजे पक्राउ गरिएको सो पार्टीका युवा नेता रजमान तामाङले जानकारी दिए । पक्राउ पर्नेमा विप्लव माओवादीका काठमाण्डु जिल्ला सचिवालय सदस्य विजय शाही, किशोर न्यौपाने, बबी श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ लगायत छन् ।

होटलमा सुतेरै बिहान सबेरै कलंकी चोकमा गाडीमा आगजनी गर्ने तयारी गरेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्रेको हो । नेता तामाङले पक्राउ परेकाहरुको अवस्था अज्ञात रहेको बताए ।

‘हाम्रा साथीहरुलाई पक्रेर कहाँ राखिएको छ भन्ने जानकारी परिवारलाई समेत दिइएको छैन’, तामाङले भने, ‘एक किसिमले उहाँहरुलाई बेपत्ता पारिएको छ ।’ यद्यपि पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको बुझिएको छ ।

यसैबीच प्रहरीले विप्लव माओवादी सम्वद्ध क्रान्तिकारी महिला संघकी महासचिव धिरेन्द्रा उपाध्यायसहित ८ जनालाई बन्द गराउँदै हिंडेको अवस्थामा चावहिलबाट पक्राउ गरेको छ ।

यस्तै संयुक्त उद्योग व्यापार संघक ललितपुरका अध्यक्ष मोहन शिवोकोटी पाटनबाट पक्राउ परेका छन् ।

 

यसमा तपाईको प्रतिक्रिया