भारतीय रेलमन्त्रीले गरे सनसनीपूर्ण खुलासा , देउवा र साङ्गे भारतमा सँगै बसेका थिए

sures-peabhu

काठमाडौं, २८ कात्तिक– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तिब्बती पृथकतावादी नेता लोब्साङ साङ्गे सँगै बसेको तस्बिर ‘फेक’ भएको भन्दै कांग्रेस केन्द्रीय कार्यालयले खण्डन गरिरहेका बेला भारतीय रेलमन्त्री सुरेश प्रभुले पनि देउवा र साङ्गे सँगै बसेको तस्बिर सार्वजनिक गरेका छन् ।
गोवाको कार्यक्रममा तिब्बती पृथकतावादी नेता तथा समानान्तर सरकारका ‘निर्वासित प्रधानमन्त्री’ साङ्गेसँग आफू सँगै नबसेको र सञ्चार माध्यमले बनावटी तस्बिर प्रकाशित गरेको दावी गर्दै कांग्रेस केन्द्रीय कार्यालयले २६ कात्तिकमा विज्ञप्ति जारी गरेको थियो ।


तस्बिर जोडेर भ्रामक रुपमा प्रकाशित गरेको देउवाको दाबीलाई भारतीय रेलमन्त्री प्रभुले आफ्नो फेसबुकमा पोष्ट गरेको तस्बिरले सिधै झुट सावित गरेको छ । सञ्चार माध्यमले देउवा र साङ्गेको फोटो जोडेर आफैंले बनाएका हुन् भने सोही कार्यक्रममा सहभागि भारतीय रेलमन्त्रीले सार्वजनिक गरेको फोटोमा पनि देउवा र साङ्गे कसरी सँगै देखिए ? भारतीय मन्त्री प्रभुले प्रकाशित गरेको तस्बिरले पनि देउवा र साङ्गे एकैठाउँ बसेको देखाउँछ । फेरि सोही कार्यक्रममा प्रमुख वक्ता रहेका देउवा र विशेष वक्ता रहेका साङ्गेबीच भेटघाट नएको कसरी पत्याउन सकिन्छ ? कार्यक्रमका सबै वक्ताको नाम उल्लेख गरी एक महिनाअघि नै प्रचार प्रसार भएको कार्यक्रममा देउवा थाहै नपाइ सहभागि भएको कसरी मान्न सकिन्छ ?

इण्डिया फाउण्डेशनद्वारा कात्तिक २० गते गोवामा आयोजित डेमोक्रेसी, डेभलपमेन्ट एण्ड डिसेन्ट कार्यक्रममा भाग लिन देउवा मुख्य वक्ताका रुपमा पुगेका थिए । सोही कार्यक्रममा तिब्बती पृथकतावादी नेता तथा समानान्तर सरकारका प्रधानमन्त्री साङ्गे मुख्य वक्ताको रुपमा पुगेका थिए । नेपालको एक चीन नीति विपरित देउवाले तिब्बती पृथकतावादी नेतासँगै कार्यक्रममा सहभागिता जनाएपछि नेपाल भित्र ठूलो हंगामा भएको थियो । भारतबाट फर्केका दिन देउवाले त्रिभुवन अन्तराष्ट्रिय विमनस्थलमा त्यसको खण्डन गर्दै सञ्चार माध्यमका समाचारलाई झुठ भनेका थिए । उनले समाचार प्रकाशन गर्नेहरुलाई देखाइदिने पनि चेतावनी दिएका थिए । देउवाको गतिविधिका कारण छिमेकी चीन सशंकित बन्न पुगेको छ भने उसले आफ्नो देश टुक्र्याउने अभियानमा किन सहभागिता जनाएको भन्दै नेपाल सरकार समक्ष प्रश्न सोधिसकेको छ ।

(साङ्गेसँगै नारिएका देउवा यो पनि पढ्नुस्)

साङ्गे र दलाई लामासँग भेट नभएको देउवाले दावी गरेकै भोलिपल्ट कार्यक्रममा देउवा र साङ्गे सँगै नारिएर बसेको तस्बिर सार्वजनिक भएको थियो । तस्बिर सार्वजनिक भएपछि कांग्रेस केन्द्रीय कार्यालयले तस्बिर फेक भएको र देउवा र साङ्गेलाई जोडेर बनाइएको आरोप लगाएको थियो ।

 

‘दर्शक दीर्घामा को–को थिए र को कहाँ बसेका थिए, त्यसको उहाँलाई कुनै जानकारी छैन र जानकारी लिने विषय पनि भएन । त्यसको चियोचर्चो गर्ने विषय पनि होइन । त्यसका बाबजुद कहाँ कहाँको तस्बिर जोडी उहाँसँगै बसेको र अन्तरक्रिया समेत गरेको तथा सभापति श्री देउवा एक चीन नीतिप्रति सम्वेदनशिल नभएको भनी दुष्प्रचार गर्नु दुर्भाग्यपूर्ण हो । ’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको थियो । तर, के भारतीय रेलमन्त्री सुरेश प्रभुलले आफ्नो फेसबुक पेजमा पोष्ट गरेको फोटो पनि जोडेर बनाइएको हो ? भन्ने प्रश्न उठेको छ ।

 

यसमा तपाईको प्रतिक्रिया