सुजातालाई ५० लाख दिने निर्णयमा स्वास्थ्यमन्त्री थापाको आपत्ति स्वास्थ्यमन्त्रीलाई थाहै नदिई निर्णय गरियो: भण्डारी

gagan-sujata

काठमाडौं, २८ कात्तिक । स्वास्थ्यमन्त्री गगन थापाले कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने सरकारको निर्णयमा आपत्ति जनाएका छन् ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयले ल्याएको विशिष्ट व्यक्तिको उपचारमा १५ लाखभन्दा बढी रकम नदिने कार्यविधिलाई लत्याउँदै सुजातालाई ५० लाख दिने निर्णय गरेपछि गगनले असहमति जनाएका हुन् ।

साथै यो निर्णय उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको दबाबमा भएको खुल्न आएको छ । ‘विशिष्ट व्यक्तिलाई उपचार खर्च दिने प्रस्ताव स्वास्थ्यमन्त्रीले गर्नुपर्थ्यो,’ स्वास्थ्यमन्त्री थापाका प्रेस संयोजक जीवन भण्डारीले भने– ‘तर, स्वास्थ्य मन्त्रालयले ल्याएको कार्यविधि लत्याउँदै चोर बाटोबाट गृहमन्त्रीबाट लगियो । यो निर्णयमा स्वास्थ्यमन्त्रीको कुनै संलग्नता छैन् र उहाँले आपत्ति जनाउनुभएको छ ।’ भण्डारीका अनुसार यो निर्णय हुँदा मन्त्री थापा पोखरामा थिए ।

स्वास्थ्यमन्त्रीले असहमति जनाउनुका तीन कारण

स्वास्थ्यमन्त्रीका प्रेस संयोजक भण्डारीका अनुसार सुजातालाई ५० लाख दिने निर्णयमा मन्त्री थापाले तीन कारणले असहमति जनाएका छन् ।

१) कार्यविधि बनाएर गर्नुपर्ने निर्णय लत्याएर गरियो ।
२) मन्त्रिपरिषद्मा स्वाथ्यमन्त्रीले गर्नुपर्ने प्रस्ताव चोर बाटोबाट गृहमन्त्रीबाट लगियो ।
३) अर्थसमितिले कार्यविधि बनाएर मात्र निर्णय गर्नु भनेको थियो । यो निर्णयले त्यसलाई पनि उल्लंघन गर्यो ।

स्वास्थ्यमन्त्रीलाई थाहै नदिई निर्णय गरियो

सुजातालाई उपचार खर्चका लागि ५० लाख दिने निर्णय स्वास्थ्यमन्त्रीलाई थाहै नदिई गरिएको प्रेस संयोजक भण्डारीले जानकारी दिए । ‘स्वास्थ्यमन्त्री तरुण दलको महाधिवेशनका लागि पोखरामा हुनुहुन्छ । उहाँ पोखरा भएको मौका पारेर मन्त्रिपरिषदले थाहै नदिएर यो निर्णय गर्यो,’ उनले भने ।

कार्यविधि पारित भएको भए सुजातालाई १५ लाख पनि दिन मिल्दैनथ्यो

स्वास्थ्य मन्त्रालयका अनुसार विशिष्ट व्यक्तिको उपचारमा १५ लाखभन्दा बढी रकम नदिने कार्यविधि पारित भएको भए सुजाताले १५ लाख रुपैयाँ पनि पाउँदिन थिइन् ।

स्वास्थ्य मन्त्रालयले ल्याएको कार्यविधिअनुसार पहिला त विशिष्ट व्यक्ति गरिब हुनुपर्थ्यो । र सिंगापुर जानलाई नेपालमा उपचार हुँदैन् भन्ने प्रमाण चाहिन्थ्यो । सुजाताको त नेपालकै उपचार सम्भव छ । जसका कारण सुजातालाई १५ लाख पनि दिन मिल्दैनथ्यो ।

 

यसमा तपाईको प्रतिक्रिया