प्रहरी र अज्ञात समुहबीच गोली हानाहान, एक प्रहरीसहित दुई घाइते

रौतहट, २९ कात्तिक–सोमबार विहानै रौतहटको लालबकैया खोलाको बाँधमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान भएको छ । मध्यमाञ्चल क्षेत्रीय कार्यालयबाट गस्तीमा खटिएका प्रहरीमाथि अज्ञात समूहले एक्कासी गोली चलाएको र लगत्तै प्रहरीले पनि जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दोहोरो गोली हानाहानमा एक प्रहरीसहित दुई जना घाइते भएका छन् । प्रहरी जवान सुरेन्द्र चौधरी घाइते भएका छन् भने अज्ञात समुहका सदस्यको परिचय नखुलेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । प्रहरी जवान चौधरीको खुट्टामा गोलीको छर्रा लागेको बताइएको छ । घाइते दुवैको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको भइरहेको छ ।

केहिबेर गोली हानाहान भएपछि अज्ञात समुहले एउटा स्वचालित हतियार र केहि दस्ताबेज छोडेर भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए।

गम्भीर घाइते भएका ती समूहका ब्यक्तिको पहिचान खुल्न नसकेकाले अनुसन्धानमा कठीनाई भएको प्रहरीको भनाई छ ।

घटनापछि सबै नाकामा सुरक्षा अवस्था कडा पारिएको छ ।

 

 

यसमा तपाईको प्रतिक्रिया