“‘गिरिजा मेरो अभिवाबक, म सुजाताको अभिवाबक’ त्यसैले सुजातालाई ५० लाख दिनु मेरो कर्तब्य हो”-प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेत्री सुजाता कोइरालालाई ५० लाख दिने सरकारी निर्णयको बचाउ गरेका छन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विशेष आग्रहमा आफुले कोइरालालाई ५० लाख दिने निर्णय गराएको बताए ।

सोमबार बालुवाटारमा पुगेका उनी निकटका पत्रकारहरुसँग प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवाले सुजाताको उपचारका लागि एक करोड रकम मागेको तर सरकारले ५० लाख दिएको बताए । ‘कांग्रेस सभापति देउवाले एक करोड माग्नु भएको थियो तर ५० लाख दिने निर्णय भएको छ, प्रधानमन्त्री दाहालले भने ‘यो निर्णयलाई विपक्षले इस्यू बनाएका छन् । निर्णयको प्रतिरक्षा गर्नुहोस् ।’

प्रधानमन्त्री दाहालको निमन्त्रणमा एक दर्जन पत्रकार बालुवाटार पुगेका थिए । बालुवाटारमा उनले निर्णयका पक्षमा खुलेर लाग्न पत्रकारहरुलाई आग्रह पनि गरेका थिए । दाहालले सम्पादक तहका पत्रकारहरुलाई सुजाता गिरिजाप्रसाद कोइरालाकी छोरी भएका कारण पनि आफुले सहयोग गरेको बताए ।

‘गिरिजा मेरा अभिभावक हुनुहुन्थ्यो, म सुजाताको अभिभावक हुँ’ पत्रकारहरुसँग प्रधानमन्त्री दाहालले भने ‘गम्भिर विरामी परेका बेला सहयोग गर्नु मेरो कर्तब्य हो, त्यही आधारमा ५० लाख सरकारले उपचार खर्च छुट्टयाएको छ ।’ दाहालले सुजाता कांग्रेसकी वरिष्ठ महिला नेत्री र पूर्व उपप्रधानमन्त्री समेत भएको बताउँदै उनको उपचार खर्च राज्यले नै ब्यहोर्ने बताए ।

दाहालले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले करोडौ रकम लिएर उपचार गरेको प्रसंग उठाउँदै आफु निकटका पत्रकारहरुलाई भने ‘सुजाताको कुरा उठ्दा तपाईहरुले केपी ओलीको कुरा उठाउनुस् त्यसपछि विपक्षहरु चुपचाप लाग्छन् ।’ दाहालले सुजाताको उपचार खर्चलाई लिएर एमालेले राजनीति गरेको आरोप समेत लगाए । ‘एमालेको मिडिया परिचालन शक्तिशाली छ, त्यसलाई चिर्न तपाईहरुले सक्नु भएन, अब जुट्नुस्’ प्रधानमन्त्री दाहालले एमालेबिरुद्ध लड्न आग्रह गर्दा ठुला पत्रिकाका दुई सम्पादक पनि त्यही थिए । 

यसमा तपाईको प्रतिक्रिया