सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने सरकारको निर्णयपछि विवादमा तानिएका स्वास्थ्यमन्त्री गगन थापाले राजीनामा नदिने संकेत

कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने सरकारको निर्णयपछि विवादमा तानिएका स्वास्थ्यमन्त्री गगन थापाले राजीनामा नदिने संकेत गरेका छन् ।gagan-thapa-1000x0

साथै स्वास्थ्यमन्त्री थापाले आफू नीति र नियमका लागि काम गर्ने र पछि नहट्ने बताएका छन् ।

थापाले आफ्नो राजीनामाले नेतालाई उपचार खर्च बाड्ने पूरानो प्रचलन नहट्ने भन्दै राजीनामा नदिई अझ धेरै मिहिनेत गर्ने र आफ्ना योजना सफल पार्ने प्रतिबद्धता जनाए । 

स्वास्थ्य मन्त्रालयले ल्याएको विशिष्ट व्यक्तिलाई १५ लाखभन्दा बढी उपचार खर्च नदिने कार्यविधिलाई लत्याउँदै आइतबार सरकारले सुजातालाई ५० लाख दिएपछि गगन नैतिक संकटमा परेका छन् । आफू अनुपस्थित भएका बेला चोर बाटोबाट गरिएको यो निर्णयमा गगनले आपत्ति पनि जनाइसकेका छन् ।

तर, धेरैले मन्त्रिपरिषदले क्रस गरेर अपमानित गरेपछि गगनले पदबाट बसिरहन उचित नहुने भन्दै राजीनामा गर्न दबाब र सुझाव दिएका छन् । यस्ता सुझाव आएपछि गगनले सामाजिक सञ्जाल ट्वीटरबाट राजीनामा नदिने स्पष्ट सन्देशसहित प्रतिक्रिया दिएका छन् ।

आफूले तयार पारेको स्वास्थ्य कार्यविधि लागु गराउन मन्त्रिपरिषदमा लगातार दबाब दिने दृढता व्यक्त गर्दै स्वास्थ्यमन्त्री थापाले जस्तो सुकै व्यवधानका बाबजुद आफ्नो लडाई जारी राख्ने बताएका छन् ।

‘विशिष्ट व्यक्तिलाई उपचार खर्च भनेर दिइने अधिकतम आर्थिक सहयोग रोक्ने मेरो प्रयास अहिलेलाई असफल भएको छ जुन दुर्भाग्यपुर्ण छ,’ ट्वीट गर्दै थापाले भनेका छन्- ‘धेरै काम गर्न बाँकी छ त्यसैले छाड्ने र हिड्ने कुरा अप्रासाङ्गिक हुन जान्छ र यो पुरानो बानीलाई निरन्तरता दिनका लागि सजिलो हुन जानेछ ।’

आफ्नो राजीनामाले नेतालाई उपचार खर्च बाड्ने पूरानै प्रचलन कायम रहने भन्दै राजीनामा नदिई अझ धेरै मिहिनेत गर्ने र आफ्ना योजना सफल पार्ने उनको प्रतिबद्धता छ ।

 

यसमा तपाईको प्रतिक्रिया