आफैले बनाएका नीति-नियम सरकारले मिचेर सुजातालाई ५० लाख दिएपछि के गर्ने अब गगन ले- राजिनामा या मन्त्रीपद मै रहेर लड्ने?

कांग्रेस नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सरको उपचारका लागि सरकारले आइतबार ५० लाख रुपैयाँ सहायता दिने निर्णय गर्यो । बिभागीय मन्त्री गगन थापाले नेतालाई उपचार खर्च दिन नहुने पूर्बवत अडान अनुसार सुजातालाई खर्च दिन नहुने धारणा राखे । अर्थात यसमा स्वास्थ्यमन्त्री पूरै असहमत भए । ke-garlan-gagan

स्वास्थ्यमन्त्री असहमत भए पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले आइतबारको मन्त्रिपरिषद्मा यो प्रस्ताव राखे । जसको बिरोध अन्य कुनै मन्त्रीबाट भएन । प्रधानमन्त्रीकै आग्रहमा गृहमन्त्रीले प्रस्ताव राखेपछि मन्त्रीहरुले किन बिरोध गर्न सक्थे ? बिरोध गर्न सक्ने तिनै गगन थिए । उनी उपस्थित हुन नसक्ने जानकारी दिएर पोखरा हान्निए । 

के गर्लान अब गगन ले?

समकालीन नेपाली राजनीतिमा गगन एक सम्भावनायुक्त युवा नेता हुन् । उनको वाकपटुता, मिडिया मेनेजमेन्ट र स्पष्ट रुपमा प्रस्तुत हुने शैलीका कारण गिरिजाप्रसाद कोेइरालाले किनारा लगाउन खोज्दा पनि सकेनन् । कतिपयले गगनलाई भारतीय खुफिया एजेण्टको आरोप लगाउँदा पनि कसलै पत्याएनन् । त्यही भएर २०६४  मा समानुपातिक हुँदै २०७० मा प्रत्यक्ष तर्फबाट उनी निर्वाचित भए । र, अहिले मन्त्री पनि । मन्त्री भएपछि उनले अपेक्षित काम गर्न सकेनन् होला तर जनताका पक्षमा केही काम गरेकै छन् । 

उनले सरकारकै सदस्य भएर पनि सरकारका गलत निर्णय, प्रबृत्ति र नेताहरुका आचरणका बिरोध गरेका छन् । हो, सुजातालाई खर्च दिने निर्णयको पक्षमा उनी पटक्कै थिएनन् । गगन मन्त्रिपरिषद्मा नभएको भए सुजातालाई उपचार खर्च दिने जस्ता कैयौं निर्णय बिनाबिबाद हुन्थ्ये । ती निर्णय कति आम नागरिकरलाई थाहा नहुन पनि सक्थे । अर्थात त्यस्ता बिबादास्पद निर्णयका बारेमा सार्बजनिक बहस नहुन पनि सक्थ्यो । गगन थिए र त उनले बिरोध गरेपछि अहिले यस्तो सामाजिक बहसमा यो मुद्दा आयो । जव गलत नियत राख्ने प्रधानमन्त्री र गृहमन्त्रीका लागि गगनजस्ता एउटा पनि सदस्य मन्त्रिपरिषद्मा रहँदैनन्, अनि झन् सजिलो पो हुने हो कि ? सुजातालाई सहायता प्रकरणमा राजीनामा नै उत्तम हो त ? गगनका लागि त राजीनामा उचित हुन सक्ला तर मुलुकमा राम्रो थिति बसोस् भन्नका लागि मन्त्रिपरिषद्मै बसेर गलत क्रियाकलापको बिरोध गर्नु उचित होला । फेरि अर्काे पक्ष छ प्रधानमन्त्रीय सिस्टममा प्रधानमन्त्रीले चाहेपछि जे पनि निर्णय हुन्छ । यदि यसमा असहमति जनाउने र असहमतिलाई आफ्नो राजनीतिक पूजी बनाउने हो भने त्यही क्याबिनेटको सदस्य बनिरहनु उपयुक्त हुँदैन । गगनले स्वास्थ्यमन्त्रीबाट राजीनामा दिए भने मात्रै आइन्दा स्वास्थ्योपचारमा नेतालाई सहायताको विरोध गर्नै हक राख्छन् । प्रधानमन्त्रीय पद्दतिमा राजीनामा नदिई त्यही क्याबिनेटमा बसेर निर्णयको विरोध गर्ने अधिकार भने गगनलाई हुँदैन । जे गर्ने हो गगनले निर्णय गरुन् । 

जव आफूले लिंदै आएको सार्बजनिक अडानलाई मन्त्रिपरिषद्बाट पास गराउन सकिंदैन, पदमा बस्नु नैतिकहीन हुन्छ । जुन गगन नैतिकताको राजनीतिको कुरा गर्छन, उनी यस्तो बेलामा कसरी पदमा बस्न सक्छन् ? त्यसैले उनले राजीनामा दिनुपर्छ । अहिले सामाजिक सञ्जालमा गगनले राजीनामा दिनुपर्छ भन्ने अत्यधिक मत देखिन्छ । गगनलाई उनको अहिलेसम्मको राजनीतिक इमानकै कारणले उनकै हित चाहनेले राजीनामा दिन सुझाएका छन् । त्यसो भए किन राजीनामा नदिने ? 

मन्त्री गगन थापाको असहमतिका बावजुद सुजातालाई आर्थिक सहयोग उपलब्ध गराउने मन्त्रिपरिषदको निर्णयपछि गगनले चुन्ने दुई बिकल्प छन्– पहिलो, निर्णयप्रति असहमति राख्दै राजीनामा दिने, दोस्रो मन्त्री नै रहीरहने हो भने क्याबिनेटको निर्णयमा असहमति रहेको बेतुकको प्रचार नगर्ने । तर, आफूलाई राजनीतिक दल निरपेक्ष दावी गर्ने केही यस्ता लेखक छन्  जसले यो प्रकरणमा आफू कुन दलको कुन गुटको हुँ भन्ने समेत पहिचान खोल्न वाध्य भए । सुजाता सहयोग प्रकरणमा गगनको इमान्दार प्रयासलाई धन्यवाद दिएका बेला त्यस्ता लेखकहरुलाई पनि दलीय पहिचान खुलाएकामा धन्यवाद दिन छुटाउनु हुँदैन ।

 

यसमा तपाईको प्रतिक्रिया