मधेसी मोर्चाले प्रचन्डलाई दिएको समर्थन फिर्ता लिय संगै यसरि ढल्नेछ प्रचण्ड सरकार, गैर बामपन्थी गठबन्धन को यस्तो छ सरकार बनाउने तयारी

काठमाडौं, १ मंसिर–अहिलेको सत्ता गठबन्धन र शक्ति सन्तुलनसँग भर पर्न नसकेको भारतले वैकल्पिक धार निर्माण गरेर नेपालको राजनीतिमा थप पकड जमाउने संकेत गरेको छ । आफ्नै सक्रियतामा कांग्रेस माओवादी गठबन्धन बनाइ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएको भारतले उनको विकल्प खोज्न थालेको छ । 

जस अनुसार उसको पहिलो प्राथमिकता गैर बामपन्थी सरकार गठन गरी चुनावमा लैजाने रहेको छ । गैर वामपन्थी गठबन्धनको सम्भावना बलियो भएकै दिन दाहाललाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा, राप्रपा र मधेसी दल सम्मिलित सरकार गठन गर्ने तयारी अघि बढेको देखिएको छ ।

पूर्ववर्ती केपी ओली सरकारमाथि अविश्वास प्रस्ताव राखिएकै बेला अगाडि सारिएको यो प्लान राप्रपा नेपाल र राप्रपाबीचको एकीकरण हुन नसकेपछि तत्काल असफल भएको थियो । ओली सरकारले अगाडि ल्याएको विदेशनीतिका पक्षमा देखिएका कमल थापालाई भारत परस्त मानिएका पशुपति शमसेर राणाको लगाम दिएर नजिक ल्याउने र कांग्रेस नेतृत्वको सरकारमा दोस्रो हैसियतमा सहभागिता दिलाउने प्रयास भइरहेको स्रोतको दाबी छ । 

वर्तमान सत्ता साझेदारी दलमध्ये सबै भन्दा ठूलो तथा संसदकै सबैभन्दा ठूलो दल भए पनि प्रधानमन्त्री दाहालले चालेका कुनै पनि कदमको स्वामित्व कांग्रेसले लिएको छैन । हरेक मुख्य राजनीतिक घटनामा कांग्रेसको मौनताले पनि कांग्रेस दाहालको विरासतमा नभएर दक्षिणपन्थी दृष्टिकोणमा आधारित आफ्नै गठबन्धन निर्माणमा अग्रसर रहेको संकेत गरेको छ । अहिले झट्ट हेर्दा तेस्रो पार्टी बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका हातमा राजनीतिक ध्रुवीकरणको चाबी छ । तर, यथार्थमा ओली सरकार ढाल्नका लागि मात्रै प्रयोग गरिएका दाहाललाई गैर बामपन्थी गठबन्धन मार्फत बिदा गर्ने कसरत अघि बढेको छ । 

हिन्दुराज्य समर्थक राप्रपा र उग्रजातीय रुझानका बाबुराम तथा उपेन्द्र यादव मिलाएर मूलधारका राजनीतिक दललाई लगाम दिने प्रयास पनि सँगसँगै अघि बढाइएको छ । 

यसरी दाहालको विकल्प खोजिनुको कारण भने उनको पार्टीको राजनीतिक धरातल कमजोर हुँदै जानु रहेको छ । नेपालको सत्ताले गरेका निर्णयप्रति जनस्तरमा ब्यापक आलोचना हुनुमा दाहालको पार्टीको कमजोर राजनीतिक जग रहेको र राजकीय निर्णय आफ्नो पक्षमा भए पनि जनस्तरमा आफूप्रति घृणा बढ्दै गएको भारतले महसुस गरेको वैकल्पिक गठबन्धन निर्माणकर्ताहरुले दाबी गरेका छन् । उनका अनुसार जनसतरमा बढेको भारतको आलोचना मत्थर पार्न दुईवटा बाटो उनीहरुले तय गरेका छन् । मधेसी मोर्चामा खटपट बढिरहेका बेला संघीय समाजवादी फोरम र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबीच एकता गराउने र राप्रपाको एकीकरण गराउने । 

उग्रजातिवादी धारका बाबुराम र उपेन्द्र तथा हिन्दु राज्य तथा राजतन्त्रको वकालत गर्ने राप्रपाबीच एकीकरण हुँदा राजनीतिक धारको ढिक्का प्रयोग गर्न सजिलो हुने र यसले मूलधारका राजनीतिक शक्तिलाई गलाउन सजिलो हुने भारतले महसुस गरेको छ । 

अहिले दुई राप्रपाबीच एकीकरण गर्दा कमल थापा पनि सरकारमै जाने सम्भवना हुनु भनेको दाहालपछिको सरकारमा माओवादी बिना नै गठबन्धनबाट बहुमतको सुनिश्चितता खोजिएको हो । दुई राप्रपाबीच एकीकरणका लागि मंसिर ६ गते मिति समेत तोकिएको छ । सरकार परिवर्तन गर्दा मुख्य कार्यसूचीका रुपमा अघि सारिएको मधेसी दललाई संविधानमा सहमत गराउने काममा दाहाल असफलप्राय भइसकेका छन् । यो असफलताप्रति मुख्य सत्तारुढ घटक कांग्रेसले आजसम्म मुख खोलेको छैन । दाहाल सरकारले चालेका अन्य कदममा पनि कांग्रेस मौन छ । वैदेशिक नीतिमा कमल थापा र कांग्रेसबीच ठूलो भिन्नता देखिए पनि पशुपति शमसेर राणामार्फत थापालाई लतार्ने योजनामा यो प्रक्रिया अघि बढेको हो । माओवादीलाई सरकारबाट बाहिर राखेपछि कांग्रेसको नेतृत्वमा बन्ने सरकारमा राप्रपा दोस्रो ठूलो दलको हैसियतमा हुन्छ । 

दाहालको नेतृत्वमा मधेसी दलले भनेजसरी संविधान संशोधन नहुने करिव पक्काजस्तै देखिएको छ । सम्भवत त्यसैलाई कारण देखाएर मधेसी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिनेछन् र त्यसपछि सुरु हुनेछ सरकार परिवर्तनको खेल । अहिलेदेखि नै गैरबाम गठबन्धनमा राप्रपालाई तयार गरी राखेपछि कांग्रेस, राप्रपा र मधेसी दलहरुको संयुक्त सरकार बन्नेछ । त्यस्तो अवस्थामा एमाले र माओवादी केन्द्र प्रतिपक्षमा हुनेछन् । 

 

यसमा तपाईको प्रतिक्रिया