प्रधानमन्त्री प्रचण्डले भने- गम्भीर अपराधका घटनामा माफी दिँदैनौं

काठमाडौं, २ मंसिर – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकारका घटनामा दोषी पाइएकाहरूलाई आममाफी नहुने स्पष्ट गरेका छन् । गम्भीर अपराधमा आममाफी हुँदैन भन्नेमा आफूहरू प्रस्ट रहेको प्रधानमन्त्री दाहालको भनाई थियो ।

जवाफदेहिता निगरानी समूह र द्वन्द्वपीडित साझा चौतारी नेपालका प्रतिनिधिसँग बिहीवार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले सशस्त्र द्वन्द्वकालीन मुद्दालाई लम्ब्याउने भन्दा पनि सबैलाई मान्य हुने विकल्प खोज्नुपर्ने बताएका हुन् ।

‘द्वन्द्वकालीन गम्भीर अपराधमा माफी हुँदैन, यसमा हामी प्रस्ट छौं,’ प्रधानमन्त्री दाहालको भनाई उद्धृत गर्दै भेटमा सहभागी एक अधिकारकर्मीले भने, ‘सबैलाई कारवाही पनि हुँदैन र सबैलाई माफी पनि हुन सक्दैन । मेलमिलापको बाटो रोज्नुपर्छ ।’

अधिकारकर्मीहरूले भने सत्यनिरूपण तथा मेलमिलाप आयोगको विधेयक संशोधनको तयारी चलिरहेको समयमा सरोकारवाला सबैको कुरालाई सुनेर सबैलाई स्वीकार्य हुने गरी अघि बढ्न आग्रह गरेका थिए । अधिकारकर्मीहरूले सत्यनिरूपण आयोगलाई सफल बनाउने र सबैलाई मान्य हुनेगरी संशोधन गर्न आग्रह गरेको साझा चौतारीका सुमन अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

अधिकारकर्मीहरूले सशस्त्र द्वन्द्वकालीन मुद्दामा आममाफी दिने कुरा अस्वीकार्य हुने बताएका थिए । सत्यनिरूपण र बेपत्ता छानबिन आयोगको दुईवर्षे कार्यकाल आगामी माघ महिनामा सकिँदैछ । सरकारले सत्यनिरूपण विधेयकमा रहेका अस्पष्टता हटाउन विधेयक संशोधनको तयारी गरिरहेको छ ।
सत्यनिरूपण आयोगमा हालसम्म ५७ हजार ७ सय ५३ वटा उजुरी परेका छन् ।

यसमा तपाईको प्रतिक्रिया