नेपालको गौरव बढाएको भन्दै प्रधानमन्त्रीले गरे राष्ट्रिय फुटबल टोलीलाई सम्मान

footbal-tim-farkiye
काठमाडौं, २ मंसिर । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सम्मान गरेका छन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री निवासको सचिवालयमा खेलकुद मन्त्री दलजित श्रीपाइलीको उपस्थितिमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्रीले देशको गौरव बढाएकोमा खेलाडीहरुलाई बधाइ दिए ।

pushpa-kamal-dahal-prachanda

प्रधानमन्त्रीले भने, ‘२१ वर्षयता फुटबलको क्षेत्रमा नेपालले ठूला पदक जित्न सकेको थिएन । तर, पछिल्लो १ वर्षमै नेपालले ठूला ३ पदक जितेको छ । यो जितले नेपालको गौरव बढाएको छ । नेपालीहरुको मनोबल उच्च भएको छ । युवाहरुमा आत्मविश्वास बढेको छ । त्यसका लागि विजयी टिमका सम्पूर्ण सदस्यलाई हृदयदेखि नै बधाइ दिन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

खेलाडीहरुको प्रोत्साहनका लागि सरकारले प्रतिखेलाडी तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको स्मरण गराउँदै प्रधानमन्त्रीले भने, ‘तपाईहरुको सम्मान र मनोबलका लागि सरकारले प्रतिखेलाडी तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ । भूकम्पबाट क्षतिग्रस्त रंगशाला पूनर्निर्माणको काम अघि बढिसकेको छ, छिट्टै रंगशाला पुनर्निर्माण हुनेछ ।’

साथै प्रधानमन्त्रीले अहिलेको रंगशाला निकै सानो रहेकाले ठूलो रंगशाला निर्माणका लागि छिट्टै पहल सुरु गर्ने जानकारी पनि दिए ।

सम्मान कार्यक्रममा एन्फाका कार्यबाहक अध्यक्ष मणि कुंवरले भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण र खेलाडीहरुको प्रोत्साहन एवं सम्मानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

 

यसमा तपाईको प्रतिक्रिया