एमाले र मधेसी मोर्चाले अडान नछाडेपछि सहमति भएन चैतमा निर्वाचन असम्भव !

baithak-prachanda

काठमाडौं, ३ कात्तिक । संविधान संशोधन सम्बन्धमा मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी नेकपा एमालेले आ-आफ्नो अडान नछाडेपछि सहमति टरिरहेको छ । सरकारले चैतमा स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरेपनि संविधान संशोधनमा कुरा नमिलेपछि चैतमा हुने भनिएको चुनाव नहुने देखिएको छ ।

अन्य जिल्लाबाट स्थानीय निकाय पुर्नर्संंरचना आयोगको प्रतिवेदन आएपनि तराईका १२ जिल्लाबाट प्रतिवेदन अझै आउन सकेको छैन । आयोगका प्रवक्ता डोरमणि पौडेलका अनुसार अहिलेसम्म ६३ जिल्लाको पुर्नर्संरचनासहितको प्रतिवेदन स्थानीय निकाय पुर्नर्संरचना आयोगमा आईपुगेको छ ।

चैतमा निर्वाचन गर्नका लागि मंसिरको पहिलो सातासम्म अनिवार्यरुपमा सङ्ख्यासहितको प्रतिवेदन आफुलाई उपलब्ध हुनुपर्ने निर्वाचन आयोगले यसअघि नै प्रष्ट पारिसकेको छ । कात्तिक मसान्तभित्र निर्वाचनसम्बन्धी कानुन पनि आउनु पर्ने चैत्रमा निर्वाचन हुनका लागि आयोगको अर्को शर्त छ । अहिले पनि निर्वाचन कानुन संसदिय समितिमा छ । अब आउने प्रतिवेदनका आधारमा चैतमा चुनाव गर्न सकिने स्थिति नरहेको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले बताए ।

स्थानीय निकायको पुनर्संरचना बारेको १२ जिल्लाको प्रतिवेदन आयोगमा नआईपुग्दा आयोगको अन्तिम प्रतिवेदन तयार पार्ने काम रोकिएको छ । मधेसी दलसहितको संघिय गठबन्धनले पहिले संविधान संशोधन त्यसपछि मात्रै निर्वाचनको अडान लिएकाले मधेसका केहि जिल्लाहरुमा पुर्नरसरचनाको काम हुन सकेको छैन ।

मधेसी दलको बर्चश्व रहेको मधेसका जिल्लामा पुर्नर्संरचनाका बिषयलाई लिएर छलफल पनि हुन सकेको छैन । चुनावका लागि संविधान संशोधन पहिलो सर्त रहेको गठबन्धन संयोजक उपेन्द्र यादवले बताए ।

 

यसमा तपाईको प्रतिक्रिया