आत्मविश्वासी जर्नेल रमिन्द्र क्षेत्री जो कम्मरमुनिको भाग नचले पनि १३ बर्षदेखी निरन्तर राष्ट्रसेवा मा छन समर्पित (हेर्नुहोस भिडियो)

३ मंसिर /काँधमा दुई तारा । शरीरमा बर्दी । बोलीमा सैनिक अधिकारीको ओज । अनि त्यस्तै आत्मविश्वासी शैली । उनको कार्यकक्षमा पुग्ने वा उनले सम्बोधन गर्ने कार्यक्रममा पुग्ने जो कोहीलाई पनि नेपाली सेनाका यी दुईतारे जर्नेलको शारीरिक अवस्थाबारे हेक्का रहँदैन ।

अर्थात् उपरथी रमिन्द्र क्षत्री । हो, उनलाई पहिलोपटक भेट्ने जो कोहीलाई पनि उनको शारीरिक अवस्थाबारे आँकलनसम्म हुँदैन । हुन पनि उनको व्यावसायिक जीवनमा त्यसबाट अवरोध आएको पनि छैन । तर, तिनै दुईतारे जर्नेललाई घरदेखि कार्यालयसम्म आउँदा दुई सहयोगी चाहिन्छभन्दा धेरै मानिस अचम्म हुन्छन् । जर्नेल अनि अरूको सहारा ? हो नेपाली सेनाका उपरथी क्षत्रीको दैनिकी विगत १३ वर्षदेखि यसरी नै अघि बढी रहेको छ । तैपनि उनको आत्मविश्वास र व्यावसायिकतामा कमी आएको छैन । सेनाले पनि त्यसलाई अन्यथा लिएको छैन । उनको जीवन गतवर्षको महाभूकम्पमा हजारौं आफन्त गुमाएका नेपालीले गाएजस्तै छ– ‘धरहरा ढल्यो । तर, हाम्रो मन ढलेको छैन ।’

आजभन्दा १३ वर्षअघि अर्थात् २०६० भदौ ११ को बिहान । महासेनानी रमिन्द्र क्षत्री आफ्नो निवास कपुरधाराबाट भद्रकालिस्थित सैनिक जंगी अड्डा जान निस्कँदै थिए । तर, उनलाई के थाहा केही समयपछि नै उनको जीवनले अनौठो मोड लिनेछ भनेर ।

उनको घरको गेटबाहिर लुकेर बसेका माओवादी लडाकुले उनीमाथि गोली बर्साए । पछि पुष्टि भएअनुसार त्यहाँ ७ लडाकु थिए । गोली लागेका क्षत्रीलाई परिवारका सदस्यहरूले सैनिक अस्पताल पुर्‍याए, लामो उपचारपछि उनी बाँचे पनि । तर, उनको कम्मरमुनिको भाग नचल्ने भयो । त्यसपछिको लामो जिन्दगीमा ह्वीलचेयर उनको साथी बन्यो ।

यसमा तपाईको प्रतिक्रिया