मधेसी मोर्चालाई पेलेरै प्रचण्डले मंगलबार संविधान संशोधन प्रस्ताव पेस गर्ने

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंसिर ७ गते मंगलबार व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव पेस गर्ने भएका छन् ।

प्रतिपक्षी नेकपा एमाले र संघीय गठबन्धनले आ–आफ्नै अडान खडा गरेर संशोधन प्रस्तावको विपक्षमा उभिइरहेका बेला प्रचण्ड दुबै शक्तिलाई पेलेर मध्यमार्गी बाटोबाट प्रस्ताव ल्याउन लागेका हुन् ।

बालुवाटार स्रोतका अनुसार शनिबार विहान आफूनिकट नेताहरुसँगको छलफलमा प्रचण्डले संविधान संशोधनका लागि प्रस्ताव तयार पारिसकेकोले अब त्यसबाट आफू ब्याक नहुने अडान लिएका छन् । अब संशोधन प्रस्ताव संसदमा दर्ता गराउन ढिलाई गर्न नहुने प्रचण्डको निष्कर्ष छ ।

जसले विरोध गरेपनि संसदमै फेस गर्ने मनस्थितीमा प्रचण्ड यतिवेला आन्तरिक तयारीमा जुटेको स्रोत बताउँछ । माओवादी केन्द्रका नेता वर्षमान पुन पनि सके सहमति नसके सरकार एक्लैले यसै हप्ताभित्र संशोधन प्रस्ताव पेस गर्ने बताउँछन् ।

चार विषयमा संशोधन

सरकारले मधेसी दलहरूसँग भएको तीनबुँदे सहमतिअनुसार संविधानका मुख्य चार विषयमा संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । स्रोतका अनुसार संशोधन प्रस्तावमा नयाँ संविधानको नागरिकता, प्रदेश सीमांकन, राष्ट्रियसभाको गठन र भाषाका विषयमा उल्लेख गरिने तयारी गरिएको छ । तर, मधेसी दलहरूले भने संविधानका विभिन्न सात विषयमा ५२ वटा धारा संशोधनको माग राख्दै आएका छन् ।

चार विषय नमान्ने उपेन्द्रको चेतावनी

यता मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले बाहिर हल्ला चलेझैं चार विषयमा संशोधन प्रस्ताव आए कुनै हालतमा नमान्ने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै यादवले चार वटा विषयमा मात्रै केन्द्रित रहेर बाहिर हल्ला भएजस्तै संशोधन प्रस्ताव आए त्यसलाई आफूहरु कुनै हालतमा नमान्ने र आन्दोलनमा जाने चेतावनी दिए ।

यसमा तपाईको प्रतिक्रिया