छाउगोठभित्रै २१ वर्षीय पाँचदिने दिनको राति सुत्केरीको मृत्यु

gothama
काठमाडौं, ५ मंसिर-तिमिल्सेना–७ अछामकी डम्मरा उपाध्यायको छाउपडी गोठभित्रै ज्यान गएको छ । महिनावारी भएको पाँचौं दिनको राति २१ वर्षीया डम्मरा छउगोठभित्र मृत अवस्थामा भेटिएकी हुन् । शनिबार अबेरसम्म पनि नउठेपछि घरका अन्य सदस्य उठाउन पुग्दा छाउगोठभित्रै घोप्टो परेको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले बताए ।

उनी घरबाट ४० फिटको दुरीमा रहेको छाउगोठमा महिनावारी भएको पहिलो दिनदेखि नै एक्लै बस्दै आएकी थिइन् । मृतक उपाध्यायको नाकबाट रगत बगेको तर अन्य कुनै पनि चोटपटक भने नदेखिएको प्रहरी निरीक्षक ढकालले बताए । ‘अत्यधिक पेट दुखेर घोप्टो परेको हुनुपर्छ,’ ढकालले भने, ‘त्यसैको पीडाले पनि मृत्यु भएको हुनुपर्छ ।’

शुक्रबार राति स्वस्थ अवस्थामा सुतेकी उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि सोको पुष्टि भइसकेको छैन । शनिबार नै उनको शव जिल्ला अस्पताल मंगलसेनमा पोस्टमार्टम गरिएको छ । मृतकका श्रीमान् यज्ञराज उपाध्याय नोकरीका लागि भारतमा छन् ।

अछाममा मात्र १० वर्षको अवधिमा छाउगोठमा बसेका बेला सर्पले टोकेर, निसास्सिएर र आगोले पोलेर नौजना महिलाको मृत्यु भइसकेको छ ।

अछाममा महिनावारी भएको सात दिनसम्म छाउपडी गोठमा बस्नुपर्ने चलन छ । महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने अवस्था अन्त्यका लागि विभिन्न क्षेत्रबाट प्रयास भए पनि यो चलन अझै हटिसकेको छैन ।

अछाममा २० गाविस तथा तीन नगरपालिकाका गरी १८ ओटा वडालाई छाउपडी गोठमुक्त क्षेत्र घोषणा गरिएको भए पनि अन्य क्षेत्रमा यो समस्या यथावत् छ ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले अछामको तिमिल्सेना गाउँमा छाउपडी गोठमा सुतेकी २१ वर्षीया महिलाको ज्यान गएको घटनाप्रति चासो व्यक्त गरेका छन् । प्रधानमन्त्री सचिवालयले शनिबार अछामका प्रमुख जिल्ला अधिकारी कुशलराज शर्मासँग टेलिफोन गरी घटनाबारे चासो लिएको हो । 

आजको राजधानी दैनिकमा खबर छ ।

यसमा तपाईको प्रतिक्रिया