पूर्व लडाकु माओवादी भन्छन्ः ‘प्रचण्ड र बाबुरामहरु भारतसँग बिकेपछि हाम्रा सपनाहरु तुहिए

५ मंसिर । २०५८ सालको हिउँदको कुनै दिन । माओवादी जनयुद्ध चरमोत्कर्षमा थियो । जताततै विद्रोही माओवादी र सुरक्षाकर्मीहरुबीच भीडन्त भएको कुरा मात्रै सुनिन्थ्यो । यस्तो भयावह परिस्थितिमा सिन्धुली, कमलामाई नगरपालिका– ४ का विमल बरालले भने एउटा टुंगो गरे– माओवादी लडाकु बन्ने ।

अहिले नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपा (माओवादी) का नारायणी व्युरोका सदस्य रहेका ‘असिम’ अर्थात् बरालले जनयुद्धमा होमिने निर्णय लिनुअघि धेरै नै सुन्दर सपनाहरु देखेका थिए । उनलाई तत्कालीन समयमा पार्टीको नेतृत्व हाँकिरहेका प्रचण्ड र डा.बाबुराम भट्टराईप्रति अधिक भरोसा थियो । क्रान्तिलाई टुंगोमा पु¥याएर देशलाई समुन्नत बनाउने कार्यमा यी दुई नेताहरुले योगदान दिनेछन् भन्ने उनमा गहिरो विश्वास थियो । त्यही भएर नै, उनले एक दिन बन्दुक बोक्ने निश्चय गरे ।
prba-mawadi

बन्दुक बोक्नुअघि उनले केकस्तो सपना सँगालेका थिए त ? भन्छन्, ‘नेपालबाट राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य गरेर जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्य राखेर नै म जनयुद्धमा सामेल भएको थिएँ ।’ के उनले सँगालेको त्यति मीठो सपना पूरा भयो त, माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेको यस दस वर्षको अवधिमा ? उनी भन्छन्, ‘नेताहरुले हामीजस्ता लडाकुहरुको सपनामाथि गद्दार गर्ने काम मात्रै गरे । भारतसँग प्रचण्ड र बाबुरामहरु बिके । उनीहरु भारतसँग बिकेकै कारण हाम्रा सपनाहरु तुहिए ।’

तर, प्रचण्ड र बाबुराम भट्टराईले आफ्नो सपना तुहाउन भूमिका खेलेका भए पनि विप्लवले भने त्यो सपना पूरा गरेरै छाड्ने गहिरो आत्मविश्वास भने उनमा पलाएको छ । भन्छन्, ‘प्रचण्ड र बाबुरामहरुले क्रान्तिको एजेन्डालाई परित्याग गरेर संसदीय भासमा जाकिए पनि कमरेड विप्लवले भने क्रान्तिको एजेन्डालाई अगाडि बढाउनुभएको छ र हामीले पनि साथ दिइरहेका छौं ।’

करिब ६ वर्षसम्म उनी युद्धकै मोर्चामा रमाए । युद्धकै मोर्चामा बिहे पनि गरे । अहिले एउटा छोराका पिता बनेका छन् उनी । उनीसँगै युद्ध लडेकाहरु मन्त्री, सांसद बनिसके । तर, उनी भने चितवनमा रहेर क्रान्तिलाई निरन्तरता दिने प्रयत्नमा छन् । भन्छन्, ‘क्रान्तिलाई निरन्तरता दिनुको विकल्प छैन । पार्टीको मुल नेतृत्वले क्रान्ति छाडेर गद्दारी गरेपछि अब हाम्रो काँधमा क्रान्ति गर्ने जिम्मेवारी आएको छ ।’

युद्धको बेला धेरै ठाउँको आक्रमणमा उनले सहभागिता पनि जनाएका थिए । सयौं माओवादी लडाकुहरुसँगै उनले सल्लेरी, लालबन्दी, रुम्जाटार, भीमान, लहान, डाँडापाखरहरुको आक्रमणमा लडे । भन्छन्, ‘धेरै ठाउँको आक्रमणमा भाग लिएँ । ७ पटक त घाइते नै हुन पुगेँ ।’ एक पटक त, आफ्नै घरमुनि सेनाले लखेट्दै आएको र रुखको घोद्रोमा रातभरि बसेर ज्यान जोगाएको अनुभव पनि उनले बटुलेका छन् ।

मुख्य राजनीतिक दल र माओवादीबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको दस वर्ष टेकेको सन्दर्भमा राजधानीमा माओवादीका शीर्ष नेताहरुले हर्ष व्यक्त गरिरहे पनि जीवनका ऊर्जावान समय युद्धमा होमेका असिमहरुका लागि भने अझै पनि पीडा व्याप्त छ । नेतृत्वले जनतालाई धोका दिएको उनको बुझाइ छ । भन्छन्, ‘जनतामाथि ठूलो धोका भयो । कुनै उपलब्धि भएको देखेको छुइनँ मैले ।’

यसमा तपाईको प्रतिक्रिया