दुई राप्रपा एकता घोषणा कार्यक्रममा अन्य राजनीतिक दललाई नबोलाइने

काठमाडौं, ५ मंसिर । दुई राप्रपाबीच सोमवार हुने पार्टी एकता घोषणा कार्यक्रममा अन्य राजनीतिक दलहरुलाई नबोलाइने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच सोमवार राजधानीमा भब्य समारोहकाबीच पार्टी एकता घोषणा गरिँदैछ ।

राजधानीको कमलदीस्थित प्रज्ञा भवनमा हुने पार्टी एकता घोषणा कार्यक्रममा अन्य दललाई भने निम्तो नगरिने राप्रपा नेपालका नेता दिलनाथ गिरीले खबरडबलीलाई जानकारी दिए ।

एकता घोषणा कार्यक्रममा दुबै पार्टीका केन्द्रीय समिति सदस्यहरुको उपस्थिति रहनुका साथै काठमाडौं उपत्यकाबाट मात्र कार्यकर्ताहरुको उपस्थिति रहने बताइएको छ । पार्टी एकता घोषणा कार्यक्रममा डिजिटल प्रविधिको पनि प्रयोग गरिने भएको छ । डिजिटल डिस्प्ले एनिमेशनको प्राविधिक काम पनि पूरा भएको एकता संयोजक समितिले जनाएको छ ।

पार्टी एकतापछि राप्रपा अध्यक्ष पशुपतिशमसेर राणा पार्टी समिति अध्यक्ष तथा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पार्टीको राष्ट्रिय अध्यक्ष बनाउने सहमति भएको छ । पार्टी एकता घोषणा गर्नु एक दिनअघि दुबै पार्टी आन्तरिक छलफलमा जुटेका छन् । आइतबार राप्रपा नेपालकाे केन्द्रीय समितिको बैठक बसेको राप्रपा नेपालका नेता गिरीले जानकारी दिए ।

पार्टीका अध्यक्ष कमल थापाको निवास विशालनगरमा बसेको बैठकले संविधान संशोधनका क्रममा दुवै पार्टीका साझा विषयलाई कायम गराउन नेतृत्वदायी भूमिका खेल्ने निर्णय गरिएको छ ।

बैठकमा सोमबार हुन लागेको दुई पार्टीको एकीकरण तथा घोषणासभाको तयारीबारे पनि छलफल भएको छ । दुवैै पार्टीबीच संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा महाधिवेशनले टुङ्गो लगाउने तथा नेपाललाई ‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी भएको बताइएको छ ।

यसमा तपाईको प्रतिक्रिया