भारु नोटका विषयमा समस्या समाधानका लागि पहल गर्छु : शेरबहादुर देउवा

भीमदत्तनगर, ५ मङ्सिर – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत सरकारले भारु पाँच सय र हजारको नोटमा लगाएको प्रतिबन्धका विषयमा आफूले प्रधानमन्त्री र नेपालका लागि भारतीय राजदूतसँग कुराकानी गर्ने बताउनुभएको छ ।

पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक कञ्चनपुर आउनुभएका नेता देउवाले आफूलाई काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरमा अभिनन्दन गरेपछि भन्नुभयो–“नेपालमा रहेको भारु नोटका विषयमा म समस्या समाधानका लागि पहल गर्छु, भारतमा मजदुरी गरेका र सीमा क्षेत्रका जनतासित भएको नोटको व्यवस्थापन हुनु जरुरी छ ।” भारु नोटको व्यवस्थापन हुन नसके नेपाली पनि प्रभावित हुने उहाँको भनाइ थियो ।

नेता देउवाले स्थानीय तहको निर्वाचनका लागि एकताबद्ध भएर तयारी अवस्थामा बस्न कार्यकर्तालाई आग्रह गर्नुभयो । “निर्वाचन गराउनु पनि संविधान कार्यान्वयन हो”, देउवाले भन्नुभयो–“यसका लागि तपाईँहरु तयार हुनुस् ।”

यसमा तपाईको प्रतिक्रिया