मित्रताका नाममा कुठाराघात एमालेका लागि अस्वीकार्य- अध्यक्ष केपी ओली

oli-lalit-pur
ललितपुर, ५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मित्रताका नाममा देशलाई कुठाराघात गर्न खोजे एमालेलाई स्वीकार्य नहुने बताएका छन् ।

नेकपा एमाले प्रदेश नम्बर ३ सङ्गठन विभागले आइतबार राजधानीमा आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागि प्रशिक्षण कार्यक्रम’ मा उनले भोलि हुने तीन दलको बैठकमा आफूले राष्ट्रहितका पक्षमा नै अडान लिने बताए ।

बैठकमा आफू दृढताका साथ लोकतन्त्र र अग्रगमनका पक्षमा आवाज उठाउने उनले बताए । संविधान संशोधनसम्बन्धी विषयमा ओलीले भने, ‘तीन करोड नेपालीको साझा मुलुक भएकाले ‘फलानाजी’ मान्नुभएन भन्दैमा एमाले संशोधनका लागि सहमत हुँदैन ।’

मित्रताका नाममा देशलाई कुठाराघात गर्न नदिनेमा उनको जोड थियो । परराष्ट्र नीति सञ्चालनको आधार राष्ट्रहित, अन्तर्राष्ट्रिय सम्बन्ध र न्याय नै आधार हुने उनले बताए ।

अहिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने पनि ओलीले बताए । ‘संविधान कार्यान्वयनका लागि ऐन/कानुनको निर्माण, आयोग गठन, सीमासम्बन्धी अस्पष्टता हटाउनु खाँचो छ,’ उनले भने । सातभन्दा बढी प्रदेशको माग गर्दा देश ध्वस्त हुने पनि उनले बताए । ओलीले भने, ‘गरिब देशमा कतिवटा सरकार, कति संसद् र कति मुख्यमन्त्री थेग्ने भन्ने पनि सोच्नुपर्छ ।’

एमाले विगतदेखि नै अनुत्पादकभन्दा पनि उत्पादक रोजगारीका पक्षमा लागेको उनले बताए । नेकपा एमाले केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले एमालेको अडान पार्टीका लागि मात्रै नभएर मुलुकका लागि आवश्यक भएकोमा जोड दिए ।

 

यसमा तपाईको प्रतिक्रिया