प्रधानमन्त्रीले बोलाए प्रमुख तीन दलको बैठक, बेलुकी पाँच बजे बैठक बस्ने

काठमाडौं, ६ मंसिर । मधेसी मोर्चाको माग अनुसार संविधान संशोधनको तयारीमा लाग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आह्वान गर्नुभएको छ । अपरान्ह पाँच बजे बालुवाटारमा बस्ने कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकमा संविधान संशोधनका विषयमा प्रधानमन्त्री दाहालले प्रस्ताव राख्नु हुनेछ । प्रस्तावमा सहमतिको प्रयास खोज्ने जनाइएको छ । कांग्रेस र माओवादी केन्द्र मधेसी मोर्चालाई फकाउने गरी संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गर्ने तयारीमा छन् । तर, प्रमुख विपक्षी दल नेकपा (एमाले) भने संविधान संशोधनको औचित्य पुष्टि नभइसकेको भन्दै असहयोग गर्ने रणनीतिमा छ । एमालेका नेता सुरेन्द्र पाण्डेका अनुसार अहिले नै संविधन संशोधन आवश्यक नरहेको बताउनु हुन्छ । ‘पुष्पकमल दाहाल संविधान कार्यान्वयन भएकै कारण प्रधानमन्त्री बन्नुभएको हो’, उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयन र संरक्षणमा जानु पर्छ ।’

एमालेले असहयोग गरे पनि कांग्रेस र माओवादी केन्द्रले संशोधन प्रस्ताव सदनमा दर्ता गर्ने तयारी गरेको छ । एमालेविना पनि दुईतिहाइ पुग्ने दाबी सत्तारुढ दलहरूको छ । दलीय सहमतिविनै एकलौटी रुपमा राष्ट्रहित र जनताविरुद्ध संशोधन प्रस्ताव ल्याए एमालेले त्यसको प्रतिवाद गर्ने तयारी गरेको एक नेताले बताए ।

 

यसमा तपाईको प्रतिक्रिया