राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता, ‘मुलुककै पहिलो शक्ति बनाउँछौं’

raprapa2

काठमाडौं, मंसिर ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच सोमबार पार्टी एकता भएको छ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा दुई राप्रपाबीच एकीकरणको घोषणा गरिएको हो ।

एकीकृत पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ राखिएको छ भने दुईजना अध्यक्ष हुने व्यवस्था मिलाइएको छ ।

अन्तरिम विधानको प्रबन्धअनुसार पार्टी एकीकरणको घोषणासँगै पशुपतिशमसेर राणा राष्ट्रिय अध्यक्ष बनेका छन् भने कमल थापा पार्टी अध्यक्ष बनेका छन् ।

पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर जबराले एकतापछि निर्माण हुने राप्रपा राष्ट्रवादी शक्तिकोरुपमा विकसित हुने बताए ।

८१ प्रतिशत हिन्दूधर्म मान्नेहरु हुँदाहुँदै जबर्जस्ती मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरिनु दुर्भाग्यपूर्ण भएको भन्दै राणाले धर्मनिरपेक्षताको विषयमा जनमतसंग्रह गर्नुपर्ने बताए ।

यस्तै, कार्यक्रममा राप्रपाका कार्यकारी अध्यक्ष कमल थापाले अबको केही वर्षभित्र राप्रपालाई मुलुककै पहिलो शक्तिकोरुपमा विकसित गर्ने दाबी गरे ।

उनले धर्मनिरपेक्षको नाममा जबर्जस्ती धर्म परिवर्तन गर्ने खेल भइरहेको भन्दै यसले मुलुकमा धार्मिकद्वन्द्वको खतरा बढाएको बताए ।

थापाले इतिहासमै सबैभन्दा बढी बाह्यशक्तिको चलखेल अहिले भइरहेको भन्दै ‘यो मुलुकका लागि अत्यन्तै खतरनाक हो’–भने ।

एकतासभामा बोल्ने राप्रपाका अरु नेताहरुले एकीकरणलेमात्रै पार्टी बलियो हुन नसक्ने भन्दै त्यसका लागि दीर्घकालीन र जनताकेन्द्रित रणनीति तय गर्नुपर्नेमा जोड दिएका थिए ।

एकतापछि अब पार्टीको झन्डा राप्रपा नेपालको हुने र चुनाव चिह्न भने महाधिवेशनले तय गर्ने सहमति भएको छ । तीन महिनाभित्र महाधिवेशन गर्ने सहमति पनि गरिएको छ ।

पार्टीमा दुई अध्यक्ष तथा लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा र प्रकाशचन्द्र लोहनी रहेको नेतृत्व रहने छ ।

दुबै पार्टीबाट डेढ/डेढ सय केन्द्रीय सदस्य समाहित भएर तीन सय सदस्यीय केन्द्रीय समिति बनाइने भएको छ ।

दुबै पार्टीका हालका पदाधिकारी यथावत् जिम्मेवारीमा रहने व्यवस्था गरिएको छ ।

एकीकरणपछि राप्रपा संसदमा ३७ सिटका साथ चौथो ठूलो दल बनेको छ ।

 

यसमा तपाईको प्रतिक्रिया