प्रधानमन्त्री प्रचन्डलाई ‘लेन्डुप दोर्जे’ बनेको भन्दै संविधान संशोधन प्रक्रिया अघि बढाए संसद् भवनभित्रै सांसद् थुन्ने युवा संघ र अनेरास्ववियुको चेतावनी

७ मंसिर  ।  प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरुले संविधान संशोधनका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग प्रदेशहरुको सीमाङ्कन, राष्ट्रिय सभाको गठन र प्रतिनिधित्व, नागरिकता र भाषा आयोग लगायतका विषयमा साझा धारणा बनाएर अघि बढ्न औपचारिक प्रस्ताव अघि सारेको भोलिपल्ट एमालेका दुई भ्रातृ संगठन अनेरास्ववियु र युवा संघले पत्रकार सम्मेलन गरी संशोधन प्रक्रिया अघि बढाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।aakhil

ती संगठनले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा मंसिर ९ गते ‘संविधान कार्यान्वयन र संशोधनको प्रश्न’ विषयक ‘बिग बहस’ को समेत आयोजना गर्न लागेको जानकारी दिएका छन् । कार्यक्रमको पूर्वसन्ध्यामा आयोजना गरेको पत्रकार सम्मेलनमा युवा संघका अध्यक्ष राजीव पहारीले जनभावना विपरीत वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाए चुप लागेर नबस्ने चेतावनी दिए । उनले जनभावना विपरीत सरकार अघि बढे त्यसका विरुद्ध सडक संघर्षमा उत्रिने चेतावनी समेत दिए । उनले संसद् भवन वरिपरि मानव साङ्लो बनाएर सांसद्हरुलाई संसद् भवनभित्रै थुनिदिने सम्मको चेतावनी दिए ।

प्रचण्ड नेतृत्वको सरकारले मुलुकलाई सिक्किमीकरण र भुटानीकरण गर्ने प्रयास गरिरहेको भन्दै त्यसको डटेर सामना गर्ने पनि चेतावनी दिए । पहारीले प्रधानमन्त्री प्रचण्डलाई लेण्डुप दोर्जे भएको आरोप लगाए ।

कार्यक्रममा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले मधेसीका नाममा अंगीकृत नागरिकलाई सर्वोच्च पदमा लैजाने कांग्रेस र माओवादीको योजना सफल हुन नदिने चेतावनी दिइन् । उनले सरकार मनपरी ढंगले अघि बढे अनेरास्ववियु चुप लागेर नबस्ने चेतावनी पनि दिइन् ।

युवा संघ अध्यक्ष पहारी र अनेरास्ववियु अध्यक्ष लामाले जारी गरेको संयुक्त विज्ञप्तिमा पनि आम जनताको भावना विपरीत संविधान संशोधन गर्ने दुस्प्रयास भयो भने जनता चुप नलाग्ने भन्दै युवा विद्यार्थी पुनः शीरमा कफन बाँधेर सडकमा उत्रिने चेतावनी दिइएको छ ।

यसमा तपाईको प्रतिक्रिया