नेपाल बिद्युत प्राधिकरण ले निमार्ण र उत्पादन गर्ने जिम्मा पाएको ३ सय मेघावाटको उत्तरगंगा आयोजना खोसेर हिजै मात्र खुलेको कम्पनीलाई निर्माण जिम्मा!

uttarganga७ मंसिर । नेपाल विद्युत प्राधिकरणले निर्माण र उत्पादन गर्ने टुंगो लागिसकेको ३ सय मेघावाटको उत्तरगंगा जलविद्युत आयोजना सोमबार मात्रै खुलेको जलविद्युत उत्पादन कम्पनीले निर्माण गर्ने देखिएको छ । नयाँ कम्पनीले उत्तरगंगासँगै नौमुरे, नलसिंह गाड र बूढीगण्डकीको पनि निर्माण जनाइएको छ । यसअघि, ऊर्जा मन्त्री जनार्दन शर्माको निर्देशनमा प्राधिकरणअन्तर्गत सब्सिडायरी कम्पनीहरुको कार्ययोजना अघि सार्दै उत्तरगंगालगायत ७ वटा आयोजनाहरु प्राधिकरणबाटै बनाउने टुंगो गरिएको थियो ।

मन्त्री शर्माले प्राधिकरणले निर्माण गर्ने गरी ७ वटा सब्सिडायरी कम्पनीहरुबारे प्राधिकरणको सञ्चालक समितिबाट सैद्धान्तिक निर्णय गर्न लगाएका थिए । ती सब्सिडायरी कम्पनीहरुबारे निर्णय गर्दा प्राधिकरणको बोर्डमा प्रबन्ध पत्र तयार नगरी सैद्धान्तिक सहमति लिइएको थियो ।

प्राधिकरणले सब्सिडायरी कम्पनीका रुपमा अघि बढाउन लागेका ७ वटा कम्पनीहरुमध्ये ६ सय ९२ मेघावाटको तमोर, ३ सय मेघावाटको उत्तरगंगा, ३ सय मेघावाटको दुधकोसी, ३ सय ३५ मेघावाटको माथिल्लो अरुण, ५ सय ८७ मेघावाटको तामाकोसी, १४ मेघावाटको माथिल्लो मोदी र ४२ मेघावाटको मोदी ए रहेको थियो । ती आयोजनाहरुबाट १ हजार सात सय ७० मेघावाट विद्युत उत्पादन हुने र करिब ५ अर्ब लगानी लाग्ने जनाइएको थियो ।

यसअघि, पूर्ववर्ति केपी ओली सरकारले अगाडि सारेका केही जलविद्युत् आयोजनाहरुलाई समेत प्राधिकरणकै सब्सिडायरी कम्पनीका रुपमा वर्तमान सरकारले अगाडि सारेको थियो । ती आयोजनाहरुमा माथिल्लो अरुण र दूधकोसी रहेका छन् । अब उत्तरगंगालाई कम्पनीको आयोजनाको रुपमा निर्माण गर्ने भएपछि प्राधिकरणले उत्पादन गर्ने ३ सय मेघावाट घट्ने देखिएको छ ।

यसमा तपाईको प्रतिक्रिया