सभापति देउवामाथी सिटौला पक्षको चेतावनी ‘सिमाङकनलाई कुर्सीमा नसाटियोस’

sitaula-sere

मंसिर ७ नेकपा एमालेलाई बाहिर राखेर सरकारले दर्ता गराउन लागेको संविधान संशोधन प्रस्तावमा विषयमा नेपाली काँग्रेस भित्र विवाद देखिएको छ । प्रमुख प्रतिपक्षी दल एमालेलाई बाहिर राखेर संविधान संशोधन प्रस्ताव दर्ता गराउँदा दलहरुबीचको सम्बन्ध थप चिसिने भन्दै काँग्रेसका कतिपय नेताहरुले त्यसो नगर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

काँग्रेसभित्र आफुलाई अलग्गै गुटको रुपमा प्रस्तुत गर्दै आएको नेता कृष्णप्रसाद सिटौला समुहका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई जब्बरजस्ती संविधान संशोधन प्रस्ताव दर्ता नगराउन चेतावनी दिएका छन् । सिटौला समुहमा रहेका स्वास्थ्य मन्त्री गगन थापा, केन्द्रीय सदस्यहरु विश्वप्रकाश शर्मा, प्रदिप पौडेल, सांसद भीमसेनदास प्रधान लगायतले एमालेलाई विश्वास लिएर मात्र अघि बढ्नुपर्ने बताए । सिटौला समुहका प्रभावशाली नेताहरुले अलग्गै छलफल गरी पार्टी नेतृत्वलाई सचेत बनाउने गरी भूमिका निर्वाह गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

गोप्य छलफलका निर्णयहरु बारे नेपालपाटीलाई जानकारी दिदै सिटौला पक्षका एक यु्वा नेताले भने ‘मधेश केन्द्रीत दलहरुका मागलाई सम्बोधन गर्ने नाममा मुलुकमा अर्को संकट निम्त्याउने काम हुनु हुदैन भन्ने हाम्रो धारणा हो । काँग्रेसले नै एमालेलाई विश्वासमा लिएर समस्या समाधान गर्ने गरी भूमिका निर्वाह गर्नुपर्छ । पार्टी नेतृत्वले त्यसो गरेको देखिन्न ।’
ती नेताले नवलपरासीदेखी बर्दियासम्मको समथर भागलाई मात्र ५ नम्बर प्रदेश बनाउने निर्णयमा सभापति देउवा सहमत हुने तर कैलाली र कञ्चनपुर एक इनच पनि टुक्राउन नहुने कुरा उचित नभएको बताए । उनले भने ‘पार्टीमा अहिले हामी शक्ती संचय गर्ने अवस्थामा छौँ । हामीलाई कोट गर्दा अर्को नकरात्मक आरोप लाग्न सक्छ । त्यसैले नाम चाँही कोट नगरिदिनु होला ।’

काँग्रेसमा चौथो पटक प्रधानमन्त्री बन्न पाउने शर्तमा सभापति देउवाले माओवादी र मधेशवादीका माग नकार्न नसकेको आरोप समेत लाग्दै आएको छ । देउवामाथी प्रहार गर्दै दवाव बढाउन उपयुक्त समय यही भएको आँकलनसहित सिटौला समुहले पार्टीको तल्लो तहसम्म आफ्नो धारणा सम्प्रेषण गर्ने समेत जनाएको छ ।

छलफलमा युवा नेता पौडेलले सत्ताको भागबण्डाका नाममा राष्ट्रलाई अर्को ठुलो दुर्घटना तर्फ उन्मुख गराउने काम नेतृत्वबाट भैरहेको बताएका थिए । स्वास्थ्य मन्त्री समेत रहेका थापाले लोकमान प्रकरणमा अलमलिएको नेतृत्वले फेरी सिमाङकनका सवालमा पार्टीको आधिकारिक धारणा बदल्न लागेको उल्लेख गरेका थिए । स्रोतका अनुसार युवा नेताहरुले कुर्सी पाउने नाममा सिमाङकनका सवालमा पार्टीको आधिकारिक धारणा साट्न नदिने बताएका थिए ।  छलफलमा सिटौला भने सहभागी थिएनन् ।

 

यसमा तपाईको प्रतिक्रिया