‘सरी’ मन्त्री ज्यू, हामी पाँच बजेसम्म सेवा दिन सक्दैनौं भनेपछि ……

काठमाडौँ, मङ्सिर ७ । सरकारी चिकित्सक सङ्घ नेपालले सरकारी अस्पतालमा बहिरङ्ग सेवा लगायत सेवा बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन हुन नसक्ने जनाएको छ ।

मन्त्रालयले अतिरिक्त सेवाका लागि चिकित्सकलाई थप सुविधाको व्यवस्था नगरी हचुवाका भरमा यस्तो सूचना निकालिएको सङ्घले आरोप लगाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै सङ्घका महासचिव डा. विष्णुरथ गिरीले अन्य सरकारी कार्यालय जस्तै नियमानुसार १० बजेदेखि ५ बजेसम्म सञ्चालन गरेर साँझ ५ बजेपछि के गर्ने भन्नेबारेमा सूचनाले केही उल्लेख नगरेको र त्यो सूचना गैरजिम्मेवार रहेको टिप्पणी गरे ।
अहिले सरकारी अस्पतालमा चिकित्सकले एक हप्तामा कम्तीमा ४९ घन्टा सेवा दिइरहेको बताउँदै उनले बिहान र साँझको ‘वार्ड राउन्ड’समेत जोड्दा सेवा अवधि त्यसभन्दा बढी रहेको जिकिर गरे ।

विज्ञप्तिमा श्रम ऐनले साप्ताहिक रुपमा ४८ घन्टाभन्दा बढी काम लगाउन नपाइने व्यवस्था गरेको भन्दै सङ्घले अतिरिक्त सेवाका लागि सरकारबाट चिकित्सकलाई थप सुविधा व्यवस्था हुनुपर्ने बताइएको छ ।

अन्य सरकारी कार्यालयमा सरकारले ‘आचरण सुधार्न’ शतप्रतिशत ‘प्रोत्साहन भत्ता’को व्यवस्था गरेको जनाउँदै सङ्घले एक हजार २०० भन्दा बढी सरकारी चिकित्सकलाई भने २०४० सालको संरचनामा चलाइरहेको आरोप पनि लगाएको छ ।

मन्त्रालयले सबै सरकारी स्वास्थ्य संस्थामा बहिरङ्ग सेवा लगायत अन्य सेवा बिहान १० बजेदेखि बेलुका १० बजेसम्म सञ्चालन गर्न गत शुक्रबार निर्देशन दिएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलले जनशक्ति थप्ने काम अस्पतालको भएको बताए । उनले जे सुविधा दिइएको छ, त्यहीभित्र नै बसेर काम गर्नुपर्छ भन्दै सेवा सुविधा थप्ने विषयमा मन्त्रालयले छलफल गर्ने जानकारी दिए ।

निर्देशनानुसार स्वास्थ्य संस्था खोलिएको नपाइएकामा वा चिकित्सक नबसेकामा कारबाही हुने मन्त्रालयले जनाएको छ

यसमा तपाईको प्रतिक्रिया