नेपालमा उद्योग खोलेर १ लाखलाई रोजगारी दिने रामदेवको घोषणा

ram-deb
काठमाडौं ।  भारतमा सफल भएपछि योगगुरु रामदेवले पतञ्जली ब्राण्डका विभिन्न आयुर्वेदिक वस्तु नेपालमा उत्पादन गर्ने भएका छन् । उनले पतञ्जलीका विभिन्न वस्तु उत्पादन गर्न नेपालको बारा जिल्लामा उद्योग स्थापना गरेका छन । सो उद्योगमा १ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने उनले जानकारी दिएका छन् । आगामी केही वर्षपछि लगानी विस्तार गरेर १ खर्ब ६० अर्ब रुपैयाँ पुर्‍याइने जानकारी दिए । लगानी विस्तार गरेर रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गरेका छन् । उनले पतञ्जली ब्राण्डका विभिन्न आयुर्वेदिक वस्तु उत्पादन गरेर १ लाख बढी नेपालीलाई रोजगारी दिने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा आफनो योग अनुभव र ब्राण्ड स्थापना  पतञ्जलीका उत्पादनका बारेका जानकारी दिँदै नेपालमा लगानी विस्तार गर्ने घोषणा गरेका हुन् । “म जति हिन्दुस्तानको नागरिक हुँ त्यति नै नेपालको पनि हुँ,” उनले भने “यही कारण पतञ्जलीका विभिन्न ब्राण्डका वस्तु नेपालमा उत्पादन तथा बिक्रिवितरणबाट आर्जन गरेको नाफा हिन्दुस्तान नलैजाने घोषणा गर्छु ।” उनले नेपालमा कमाएका नाफा नेपालमै लगानी विस्तार गर्ने सुनाए । राजनीतिक स्थिरता, स्वस्थ र आर्थिक समृद्धि नेपालमा आवश्यक भएको बताउँदै उनले कमाउने मात्र हैन जनभावनालाई पनि सोच्न नेपाली  उद्योगी व्यवसायीलाई सुझाएका छन् ।  रामदेवले गैरआवसीय नेपाली व्यवसायी उपेन्द्र महतोसँगको साझेदारीमा नेपालको बारामा पतञ्जली उद्योग स्थापना गर्न लागेका छन् । पर्सि बिहीबार उद्योगको औपचारिक उद्घाटनको कार्यक्रम छ ।  पतञ्जलीले भारतमा च्वनप्रास, दन्तमन्जन, घ्यू, विभिन्न सौन्दर्य सामाग्री, सावुनलगायत शुद्ध आयुर्वेदिक वस्तु तथा औषधी उत्पादन गरिरहेका छन् । पतञ्जलीको वार्षिक कारोबार १० खर्ब भारु बढी छ । उनले ब्राण्ड प्रवद्र्धन गर्न वार्षिक १ खर्ब भारु बढी बिज्ञापनमा खर्च गर्दै आएका छन् । उनले आगामी वर्ष पतञ्जलीका उत्पादन निकासी बढाएर १ खर्ब भारु पुर्‍याउने जानकारी दिएका छन् । उनले धनी मुलुकमा वस्तु निकासी गर्ने जानकारी दिए ।     ब्राण्ड प्रवर्धनमा जोड देऊ  रामदेबले ब्राण्ड प्रवद्र्धनमा जोड दिन नेपाली उद्योगीलाई सुझाएका छन् । सबैभन्दा ठुलो कुरा ब्राण्ड नै भएको बताउँदै उनले आफनो ब्राण्ड बनाउनमा ध्यान दिन उद्योेगीलाई सुझाएका हुन् । “ब्राण्ड आजको भोली बन्दैन र यसका लागि वर्षौं लाग्छ,” उनले भने “मैले २० वर्ष रातदिन खटेर पतञ्जली ब्राण्ड बनाएको छु ।” पतञ्जलीको छातामुनी धेरै ब्राण्ड रहेको जानकारी दिँदै उनले थपे, “पहिला एउटा ब्राण्ड स्थापित गर्नुस त्यसपछि मात्र अर्कोतर्फ सोच्नुस् ।” ब्राण्ड बनाउन नयाँ सिर्जना, मेहनत आवश्यक हुने उनको अनुभव छ । ब्राण्ड प्रवद्र्धन गर्न आफूले करोडौँ भारु खर्च गरेको सुनाए । ब्राण्डसँग गुणस्तरमा ध्यान दिने उनले नेपाली उद्योगीलाई सुझाए । ब्राण्ड स्कुल र कलेजमा गएर सिकिने कुरा नभएको बताउँदै उनले भने, “यसका लागि बढी मेहनत, सिर्जना र ज्ञानको प्रयोग गर्नुपर्छ ।  उनले तनावले मानवलाई रोगी बनाउने भन्दै निरोगी रहन योगअभ्यास र शारीरिक अभ्यास आवश्यक भएको बताए 

यसमा तपाईको प्रतिक्रिया