गृहमन्त्री निधिसामु यसरी शिर निहुरियो आईजीपी उपेन्द्रकान्त अर्यालको, क्षमतावान भन्दा भ्रष्ट र विवादास्पदले राम्रो ठाउँमा पाय सरुवा

काठमाडौं, ९ मंसिर । प्रहरी प्रधान कार्यालयले गत आइतबार गरेको ५९ जना एसपीको सरुवामा आईजीपी उपेन्द्रकान्त अर्यालले गृहमन्त्री विमलेन्द्र निधीका सिफारिसलाई इन्कार गर्न नसक्दा प्रहरीमा क्षमतावान भन्दा भ्रष्ट र विवादास्पदले राम्रो ठाउँ पाएका छन् ।

गृहमन्त्री निधि तथा आईजीपी अर्यालबीच कुरा नमिल्दा दसैं अघि हुनुपर्ने एसपीको सरुवा रोकिएको थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

सरुवामा एसपीको सूची र स्थान हेर्दा आईजीपी अर्याल अवकाशको मुखमा बद्नाम भएका छन् । प्रहरीमा राजनीतिक हस्तक्षेप सहन नसक्ने बताउँदै आएका आईजीपी अर्याल अबकाशको तीन महिना अघि पद जोगाउन कतिसम्म हस्तक्षेप स्वीकार्छन् भन्ने कुरा यो सरुवाले पुष्टि गरेको छ ।

एसपी सरुवाको अधिकार आपूmमाथि नै भएपनि गृहमन्त्रीलाई खुसी बनाएर स्वार्थ पूरा गर्न आईजीपी अर्याल सक्रिय छन् । यतिसम्मकी अर्याल आफैले कारबाही गरेकालाई गृहमन्त्रीले मालदार ठाउँमा पठाउन सिफारिस गर्दा इन्कार गर्न सक्ने अवस्थामा पुगेनन् ।

अर्यालले कतिपय स्थानमा आफ्ना नातेदारलाई असक्षम भएपनि प्रमुख बनाएर जाने बेलामा खुसी बनाएका छन् । अर्यालले केहि स्थानमा बाहेक अधिकांशमा भ्रष्ट तथा विवादास्पद प्रहरी अधिकृतहरु पठाएर इमान्दार प्रहरीको मानमर्दन गरेको मुख्यालयका एक उच्च अधिकृतले उल्लेख गरे ।

भ्रष्ट प्रहरीको छवी भएका एसपी गोविन्दकुमार साहलाई पर्सा जिल्लाको प्रहरी प्रमुख बनाएर पुरस्कृत गरेका छन् । उदयपुरमा छँदा भ्रष्टाचारले बद्नामी कमाएर आफैले तानेका साहलाई पर्सा जस्तो आकर्शक र महत्वपूर्ण ठाउँ दिएर उनले कस्तो सन्देश दिन खोजेका हुन ? प्रधान कार्यालयकै एक एसपीले आश्चर्य प्रकट गरे ।

महानगरिय प्रहरी परिसर भक्तपुरमा सरुवा भएकी किरण राणा महानगरिय शिक्षालयमा छँदा जुनियर प्रहरीको छनौटमा अनियमितता गरेर कारवाहीमा परेका हुन भने महोत्तरीमा सरुवा भएका एसपी नलप्रसाद उपाध्यय नवलपरासीमा कार्यरत हुँदा असक्षम र बिबादमा तानिएका प्रहरी अधिकारी हुन् । गणमा फालिएका उपाध्यय आईजीपी अर्यालका नातेदार भएकै कारण इन्चार्जबाट इन्चार्ज नै बन्न पाउने भाग्यमानी बनेका छन् ।

त्यस्तै काम भन्दा बढी हल्ला गर्ने एसपी सुरेन्द्र मैनालीलाई पनि अर्यालले मध्य क्षेत्रिय ट्राफिक कार्यालय पथलैया पठाएका छन् भने भ्रष्टाचारले बद्नाम भएका एसपी रविन्द्र धानुकलाई रुपन्देही पठाएर कांग्रेस सभापति शेरवहादुर देउवाको सिफारिसलाई इन्कार गरेनन् । अर्यालले केन्द्रिय अनुसन्धान व्युरोमा कार्यरत एसपी दिवेश लोहनीलाई सप्तरी पठाएर उनको क्षमताको मुल्याङ्कन गर्न नसकेको मुख्यालयका ति उच्च अधिकृत बताउँछन् । त्यस्तै राम्रा एसपीमा गनिने अशोक सिंहलाई पनि आईजीपी अर्यालले ठाउँ दिएनन् ।

गृहमन्त्रालय स्रोतका अनुसार गृहमन्त्रीको जस्तोसुकै सिफारिस पनि स्वीकार गरी आईजीपी अर्याल प्रहरीमा महानिर्देशक बन्ने खेलमा लागेका छन् । ३० वर्षे सेवा अवधि सकिन लागेका अर्याल प्रहरीमा ३२ वर्षे सेवा अवधि बनाउन असफल भएपछि पूर्व आईजीपी कुवेरसिंह रानालाई अगाडि सारेर आफू महानिर्देशक बन्ने र सात प्रदेशका लागि सात जनालाई आईजीपी बनाउन उनी लागि परेका छन् । तर, प्रहरीमा संघिय संरचना अहिले लागु हुने अवस्था भने देखिंदैन ।

यसमा तपाईको प्रतिक्रिया