देउवाले धोका दिएको भन्दै देउवालाई छाडे खुमबहादुर खड्काले

९, मंसिर,काठमाडौं । सामान्य हैसियतमा बसेर कांग्रेस सभापतिमा शेरबहादुर देउवालाई जिताउन महत्वपूर्ण भूमिका खेलेका खुमबहादुर खड्कालाई अहिले आएर गम्भीर धोका भएको छ । धोका अरु कोहीले नभई, आफैले सभापतिमा जिताउन जिउज्यान दिएका नेता शेरबहादुर देउवाले नै दिएका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । विमलेन्द्र निधिको भड्काउमा लागेर देउवाले पूर्वसहमति अनुसार खड्कालाई उपसभापतिमा मनोनीत गर्न अस्वीकार गरेपछि खड्कालाई ठूलो ‘झेल’ भएको हो । स्रोतका अनुसार कांग्रेसको महाधिवेशन अगाडि खड्का, देउवा र नेपालका लागि भारतीय राजदूत रणजित रायवीच काठमाडौंमा भएको गोप्य वार्तामा देउवा निर्वाचित भएपछि खड्कालाई उपसभापति बनाउने सहमति भएको थियो । सोही सहमति अनुसार खड्काले मिर्गौलाको बिरामी हुँदाहुँदै महाधिवेशनको भीडमा पुगेर देउवाका पक्षमा मत मागे । रामचन्द्र पौडेलको आकर्षक प्रस्ताव समेत अस्वीकार गरेर खड्काले लगाएको गुन विमलेन्द्र निधिका कारण देउवाले भुलेपछि खड्का समूह आक्रोशित हुन पुगेको छ । यदि पूर्व सहमति अनुसार उपसभापतिमा देउवाले मनोनीत नगरे खड्काले देउवालाई पार्टीमा ‘हैसियत देखाइदिने’ भनेर चेतावनी दिइसकेका छन् । खड्काको चेतावनीपछि देउवा पनि पछिल्लो समय हच्किएको स्रोतको दाबी छ । सोही कारण देउवाले महामन्त्रीमा खड्काको एक जना नेतालाई मनोनीत गर्ने भनेर प्रस्ताव पठाएका छन् । तर खड्काले त्यसको जवाफ दिइसकेका छैनन । केन्द्रीय समितिमा राम्रो पकड राखेका खड्काले रामचन्द्र पौडेल समूहसँग मिलेर देउवालाई अल्पमतमा पार्न सक्छन् । अहिले पनि कोइराला परिवारलाई सम्मान र आदर भावका साथ नाम लिने गरेका नेता खड्का महामन्त्री शशांक कोइराला र डा।शेखर कोइरालाप्रति कांग्रेस कार्यकर्ताको ठूलो आशा रहेको बताउने गरेका छन् । रामचन्द्र पौडेलको नेतृत्व क्षमतामा विश्वास नगर्ने खड्काले पौडेलको विकल्पमा कोइराला समूहबाट गुटको नेतृत्व गरेमा आफूले आँखा चिम्लेर समर्थन गर्ने निकटका नेता तथा कार्यकर्तासँग बताउने गरेको स्रोतको भनाइ छ । यदि त्यसो भयो भने देउवाले निधि, जस्ता कमजोर ‘सेना’ लिएर हिँड्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन । आफ्नै गृह जिल्ला डडेलधुरामा कर्णबहादुर मल्लले देउवाका उम्मेदवारलाई कांग्रेस जिल्ला कार्यसमितिमा नराम्रोसँग पराजित गरिदिएको अनुभव अहिलेसम्म बुढानिलकण्ठले भुलेको छैन । देउवाको उम्मेदवारलाई हराउने मल्ल खुमबहादुरका विश्वासिला र निकटका जिल्ला सभापति हुन् । अहिले पनि देउवासँग भन्दा धेरै जिल्ला सभापतिहरू रामचन्द्र पौडेल र खड्का समूहतिर रहेको तथ्याङ्कले पनि देखाउँछ । सबै भाग आफै खाउँ भन्ने निधिको कार्यशैलीबाट कांग्रेसका सिनियर नेताहरू रुष्ट छन् ।

यसमा तपाईको प्रतिक्रिया