संविधान संशोधनविना कार्यान्वयन हुनै सक्दैन- डा.शेखर कोईराला

sekhar-koirala2

९ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधान संशोधनविना कार्यान्वयन हुनै नसक्ने बताएका छन् । प्रेस युनियन रुकुम शाखाले सदरमुकाम मुसिकोट खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोईरालाले संविधान कार्यान्वयनका लागि संशोधन अनिवार्य रहेको बताए । तर, सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा उनले जोड दिए ।

‘संविधान निर्माणका क्रममा मधेसी मोर्चालाई उपेक्षा गरिएका कारण यस्तो समस्या आएको हो,’ नेता कोइरालाले भने, ‘संविधान संशोधनमा एमालेलाई उपेक्षा गरिए भोली फेरी अर्को समस्या आउँछ ।’

एमालेको सहयोग बिना पनि संविधान संशोधन प्रस्ताव संसदबाट पारित गर्न सम्भव भएको तर त्यसले पछि पार्ने असरप्रति सरकार अहिले नै सजक हुनुपर्ने उनको भनाइ छ । उनले एमालेले भने जसरी संविधान संशोधन नगरी कार्यान्वयनको सम्भावना नरहेको र संविधान संशोधन नभए देश गम्भीर दुर्घटनामा पर्ने स्पस्ट पारे ।

‘एमालेले अहिलेको आवश्यकता संविधान संशोधन नभई कार्यान्वयन हो भनेको छ, त्यसमा सरकारपनि सहमत छ,’ उनले भने, ‘तर संशोधन नगरी संविधान कार्यान्वयन गर्छु भन्नु असम्भव कुरा हो ।’

त्यस्तै उनले सरकारले २०७४ माघ ७ गतेसम्म ३ तहको निर्वाचन गर्ने भनी घोषणा गरेको मितिसम्ममा एउटा मात्र निर्वाचन गर्न सकेपनि त्यो ठूलो उपलब्धि हुने उल्लेख गरे ।

‘सरकारले तोकेको मितिसम्ममा प्रदेशको निर्वाचन हुने मैले कुनै सम्भावना देखेको छैन । त्यो अवधिसम्म स्थानिय तह र प्रतिनिधिसभा मध्ये एकको मात्र निर्वाचन गर्न सकेपनि त्यो संविधान कार्यान्वयनको ठुलो उपलब्धी हुने छ,’ उनले भने ।

फरक प्रसंगमा नेता कोइरालाले एमाले र माओवादी केन्द्रले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव केही मुद्दामा फस्ने डरले दर्ता गरेको आरोप लगाए । कांग्रेस पनि लोकमानलाई बचाउनुपर्छ भन्ने पक्षमा नरहेको तर कसैले भनेको भरमा लहडमा नलाग्ने उनले स्पष्ट पारे ।

 

यसमा तपाईको प्रतिक्रिया