राजिनामा को अन्तिम संघारमा प्रचण्ड, राजिनामा पछी कता धकेलिदै छ देश र सेनाले शुरु गर्यो ‘हाइ एलर्ट’?

काठमाडौं, ९ मंसिर । पहिलोचोटि तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाल प्रकरणमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक पनि पदत्यागको डिलमा पुगेका छन् । जुन कुरा उनले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकार र मधेसी मोर्चामा आबद्ध दलको बैठकमा बताएका हुन् ।

प्रचण्डले आफूले जुनसुकै बेला पदत्याग गर्न सक्ने बताएपछि नेपाली राजनीतिमा अहिले यसले निकै ठूलो चर्चा पाएको छ । प्रधानमन्त्री प्रचण्डले आफू पदबाट राजीनामा दिनसक्ने बताउनु र बुधबार नै नेपाली सेनाको पृतनापति सम्मेलनले ‘नेपाली सेनालाई हाई अलर्ट’ बस्न निर्देशन दिनुले मुलुकको राजनीति थप संक्रमणकालमा फस्न पुगेको विश्लेषण गर्न थालिएको छ ।

प्रचण्ड धर्मसंकटमा परेकै हुन् त ?

प्रचण्डले आफू धर्मसंकटमा परेको उल्लेख गरेका छन् । उनले बुधबार मोर्चाका नेताहरूसँग भनेका थिए– ‘एमालेले संशोधन प्रस्तावलाई सहमति दिन्न भनेर स्पष्ट पारिसक्यो । मोर्चाका केही नेताहरूले चारबुँदे प्रस्ताव नमान्ने भनिरहनुभएको छ । त्यसैले स्थिति खराब बन्दै गएको छ, वास्तवमा म धर्मसंकटमा परेको छुु । सरकार बनाउँदा तीनबुँदे सहमतिमा संविधान संशोधन गर्ने भनिसकेकाले माओवादी र कांग्रेस संशोधनका लागि सहमत छन् ।

म जसरी पनि प्रस्ताव दर्ता गर्छु । तपाईंहरूले साथ दिने हो कि होइन प्रस्ट पार्नुस् । यदि प्रस्ताव फेल भयो भने गठबन्धन त भत्किन्छ नै मैले नैतिक हिसाबले राजीनामा पनि दिनुपर्छ । मोर्चाले प्रस्तावमा सहमति नजनाउने हो भने म एक्लै मेरो पार्टीको ११ प्रदेशको प्रस्ताव दर्ता गराउँछु अनि जनतामा जान्छु ।’

प्रचण्डको यस्तो चेतावनपछि मधेसी मोर्चाका नेताहरू अलमलमा परेका छन् । संघीय समाजवादी फोरमबाहेक अन्य दलका नेताहरू सहमतिमै संविधान संशोधन गर्नुपर्ने पक्षमा छन् । फोरम भने संविधान संशोधनलाई बहाना बनाएर चुनावसम्म जाने रणनीतिमा छ ।
फोरमको सो रणनीतिलाई कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि पुष्टि गरेका छन् । ‘मधेसी मोर्चा तत्काल संविधान संशोधनको पक्षमा छैन, उनीहरू यो वा ऊ बहानामा समय लम्ब्याउँदै जान चाहन्छन्, तराई मधेस आन्दोलन र संविधान संशोधनलाई निहुँ बनाएर उनीहरू संसद्को निर्वाचनमा जान खोजेका छन् । स्थानीय र प्रदेश निर्वाचन उनीहरूको माग होइन,’ नेता सिटौलाले भने ।

प्रचण्डसँगको विकल्प ?
प्रधानमन्त्री प्रचण्डसामु अहिले तीन विकल्प छ । एउटा, मधेसी दलको सहमतिमा संविधान संशोधनमा जाने, सीमांकनमा कांग्रेस–एमालेको पुरानो प्रस्तावमा जाने र आफ्नै पार्टीको ११ प्रदेशको प्रस्ताव राख्ने र राजीनामा दिने ।राज्य पुनर्संरचनाका विषयमा माओवादीले ११ प्रदेशको प्रस्ताव अगाडि सारेको थियो । अहिलेको संविधानमा सात प्रदेश राखिएकोमा माओवादीको नोट अफ डिसेन्ट थियो । तत्कालीन संविधानसभाको संवैधानिक राजनीतिक तथा संवाद समितिमा कांग्रेस–एमालेले संयुक्त रूपमा सात प्रदेशको नौबुँदे प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्तावमा उल्लेखित सीमांकन प्रस्तावलाई पनि प्रधानमन्त्रीले सहमतिको एउटा रोडम्याप हुनसक्ने आधार ठानेका छन् ।

सेनाको के छ तयारी ?
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले मुलुकको परिस्थिति जतिबेला पनि बदलिन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । जंगी अड्डामा मंगलबार र बुधबार चलेको पृतनापति समन्वयात्मक बैठकमा भएको विद्यमान परिस्थितिको मूल्यांकनपछि उनले आउन सक्ने जस्तासुकै चुनौतीको सामना गर्न सक्ने गरी अपरेसनल, तालिम तथा बन्दोबस्ती तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानसेनापति क्षेत्रीले परिस्थिति जतिबेला पनि बदलिन सक्ने भएकाले मुलुकको हितलाई ध्यानमा राखेर तालिम तथा बन्दोबस्तीको तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएका थिए । उनले विभागीय प्रमुखहरू तथा पृतनापतिहरूलाई संस्थागत जिम्मेवारी तथा कार्यहरूको अलावा अपरेसनल रेडिनेस तथा सांगठनिक सुदृढीकरणका क्षेत्रहरूमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाको यो तयारीसँगै संविधान संशोधनको प्रस्ताव संसदमा दर्ताका बेला मुलुकमा मुठभेडको खतरा आउन सक्ने अनुमान गरिएको छ । प्रमुख प्रतिपक्ष एमालेले कुनै पनि हालतमा संशोधनको प्रस्ताव दर्ता गर्न नदिने रणनीति अख्तियार गरेको छ । मिडिया एनपी ले अगाडी लेखेको छ – पूर्वराजा ज्ञानेन्द्र शाह राजतन्त्र पुनस्र्थापनाका लागि चीन र भारतको संस्थापनसँग मुलुक बाहिर वार्तामा रहेकै बेला मुलुकमा देखिएको यो घटनाले आममानिस अब राजनीति कता जाला भनेर चासोका साथ हेरेर बसेका छन् ।

यसमा तपाईको प्रतिक्रिया