दुर्घटना फेरि पनि हुन सक्छ तर पनि सार्वजनिक सवारी नै चढ्छु, सरकारी चढ्दिनँ ( हेर्नुस भिडियो अन्तर्वार्ता)

chirta7
मंसिर ९ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ दलहरुले एकातर्फी रुपमा संविधान संशोधन प्रस्ताव अगाडि बढाए प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

बुधबार माइक्रोबाट झरेर घाइते भएका केसीको उपचार काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । खतरामुक्त रहेका अध्यक्ष केसीले नेपालआजसँगको कुराकानीका क्रममा भने, ‘विदेशीको डिजाइनअनुसार सिमांकन गरिदिनु पर्ने, अंगीकृतलाई राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म बनाइनु पर्ने यस्ता कुरा राख्न संविधान संशोधन सम्भव छैन । ’

केसीले थपे, ‘अन्तरिम संविधानअनुशार वैवाहिक अंगिकृतलाई अधिकार दिनु पर्छ भन्ने मागले नेपालका तराईका भूमिपुत्रको अधिकार खोसेर बिहार र यूपीबाट पसेकाहरुलाई दिनु पर्छ भनिएको हो । त्यो हामी कदापी हुन दिँदैनौं ।’

संविधान संशोधन नगरी मधेस केन्द्रीत राजनीतिक दलहरु सहमतिमा आउने सम्भावना कम छ, त्यस्तो हुँदा संविधान कार्यान्वयन हुँदैन । यो अवस्थामा के विकल्प हुन सक्छ भन्ने प्रश्नमा अध्यक्ष केसीले भने, ‘कसैले छोरी माग्यो भने ज्वाइ बनाउन सकिन्छ, बहिनी माग्यो भने पनि बहिनी ज्वाइ बनाउन सकिन्छ । आमा र श्रीमती नै माग्छ भने त्यस्तालाई के गर्नुपर्ला आफै बिचार गर्नुहोस् ।’

केसीले जवाफलाई अझ स्पष्ट पार्दै भने, ‘अनुचित माग राखेर हुँदैन । एक त संघीयताको गलपासो विदेशीले भिराइदिए । त्यसमाथि तराइलाई पहाडसँग जोड्नै हुँदैन भन्ने अतिवादीहरुको योजना विस्तारै मुलुक भारतलाई सुम्पने हो । अनि हामी कसरी मान्छौं यस्तो माग ?’
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले प्रधानमन्त्री प्रचण्डविरुद्ध आक्रोश पोख्दै प्रचण्ड नेपाल भारतमा मिसाउने अर्को लेन्डुप बन्न खोजेको आरोप लगाए । उनले भने, ‘आफै सहभागी भएको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्ड भारतको योजनाअनुशार प्रधानमन्त्री भएका हुन् । यीनी अहिले आफ्ना प्रभुले दिएको काम पूरा गर्न खोज्दैछन् । यो देश प्रचण्डको मात्रै होइन, हामी पनि छौं ।’

अध्यक्ष केसीले सांसदहरुको तलब वृद्धिको पनि विरोध गरेका छन् । उनले अहिलेसम्म त्यही पारिश्रमिकले चल्ने यतिबेला आएर तलवभत्ता वृद्धि हुनु गलत भएको उल्लेख गरे ।

सादगी जीवन जीउने केसी माइक्रोबाट झरेर घाइते हुनुलाई स्वभाविक रुपमा लिनु पर्ने बताए । सार्वजनिक सवारी चढेकी कारण आफू घाइते भएको भन्ने कुरा गलत भएको उल्लेख गरे । उनले भने, ‘निजी सवारी पनि दुर्घटनामा पर्छन् । मान्छेहरु भनिरहेका छन् कि तपाई बुढो हुनु भयो, सरकारले सुविधा दिइ हाल्छ, एउटा गाडी सुविधा लिनु ।’ यस्तो सुझाव दिनेहरुलाई केसीले जवाफ हो, ‘देश र जनताको नाममा सिन्को नभाँच्दा पनि हुने, अनि गाडी सुविधा चाहिँ लिनु पर्ने ? छ–छ महिनामा सरकार फेरिन्छ । नौ वर्षमा नौ गृहमन्त्री, त्यो भन्दा धेरै उपप्रधानमन्त्री हुन्छन् । ती सबैलाई जनताले गाडी सुविधा दिएर पाल्नु पर्ने ? यस्तो हुन सक्दैन । मलाई गाडी चाहिँदैन ।’

दुर्घटनामा पर्दैमा आफ्नो धारणामा कुनै बदलाव नआएको अध्यक्ष केसीले जनाए । उनले भने, ‘ फेरि पनि दुर्घटनामा पर्न सक्छु । तर दुर्घटनामा परिन्छ भन्ने डरले सरकारी गाडी चढ्दिनँ । जनता चढेको बस भिरबाट लडेर एकै पटक कैयनको ज्यान जान्छ । अनि हामी नेताले चाहिँ बेग्लै गाडी चढ्न सुहाउँछ ?’ श्रोत नेपाल आज 

यसमा तपाईको प्रतिक्रिया