अस्तित्व जोगाउन संघर्षरत बाबुरामलाई आफ्नै निर्वाचन क्षेत्रबाट ठुलो झड्का, स्थानीय भन्छन-“अब बाबुरामलाई भोट त उल्टोपट्टि बाट”

फाइल फोटो

फाइल फोटो

११ मंसिर ।  डाक्टर बाबुराम भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा गोरखा–२ बाट विजयी भएका थिए ।  संविधानसभाको दोस्रो निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट विजयी भए । दुई–दुई पटक गोरखाबाट विजयी बनाएर पठाएका गोरखाका जनता अहिले बाबुरामसँग निकै रुष्ट बनेका छन् । संविधान जारी भए लगत्तै तत्कालीन एमाओवादी परित्याग गरेका भट्टराई अहिले नयाँ शक्ति नेपालका संयोजक छन् । भट्टराईले नयाँ सोँच सहित नयाँ शक्ति निर्माण गरेको भने पनि उनकै जिल्लाका जनताले भने विश्वास गरेका छैनन् । केही दिन अघि बाबुरामकै निर्वाचन क्षेत्र नाम्जुङ पुग्दा त्यहाँका बासिन्दाले खुलेरै बाबुरामको आलोचना गरे ।

एक विदेशी संस्थाले निर्माण गरेको कालिका अमरज्योति प्राथमिक विद्यालयको नयाँ भवन हस्तान्तरण कार्यक्रममा राजमार्गबाट २० किलोमिटरको कच्ची बाटो छिचोलेर पुगेका सञ्चारकर्मीहरुसँग त्यहाँका जनताले बाबुरामको खुलेरै आलोचना गरे । गोरखालाई नै केन्द्रविन्दु बनाएको गएको शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनले अहिलेसम्म पनि तङ्ग्रिन नसकेका त्यस क्षेत्रका जनताले बाबुराम फेरि भोट माग्न आए उल्टोपट्टिबाट दिनेसम्मका आक्रोस व्यक्त गरे ।

‘हामीले यो जिल्लाबाट दुई–दुई पटक उहाँलाई विजयी बनाएर पठायौँ,’ नाम्जुङका तिलप्रसाद पोख्रेलले भने,’ ‘उहाँ गोरखाकै जनताको भोटले सभासद् र प्रधानमन्त्री पनि बन्नुभयो । तर, यहाँका जनताले के पाए ?’ ७० उमेरको हाराहारीका पोख्रेलले त्यसो भन्दा उनको अनुहारमा आक्रोसको भाव व्याप्त थियो । ‘भूकम्प गयो, बल्ततल्त ज्यान त बाँच्यो तर, अहिले त्यसैबेला मर्न पाएको भए हुन्थ्यो जस्तो लागेको छ,’ उनले सरकारप्रति पनि आक्रोस व्यक्त गर्दै भने, ‘हामी अझै कति समय छाप्रोमा बस्नु पर्ने हो ? राज्यलार्य थाहा छ ?’

उनले आफैँले जिताएर पठाएका जनप्रतिनिधि नै पद त्यागेर भागेपछि हारगुहार गर्ने कोही नभएको गुनासो गरे । ‘हामी त जनप्रतिनिधि विहीन छौँ,’ उनले भने, ‘अनि हामीलाई राज्यले कसरी हेर्छ ?’

तिलप्रसादको भन्दा फरक छैन तारानाथ पोख्रेलको पनि गुनासो । ‘हाम्रो भोट खेर गयो,’ उनले भने, ‘अब फेरि भोट माग्न आए उल्टोपट्टिबाट दिन्छौँ ।’  उनले बाबुरामले धोका दिएको आरोप लगाए । ‘बाबुरामले निर्वाचन क्षेत्र, गोरखा जिल्लाका लागि मात्रै नभएर देशकै लागि ठूलो धोका दिए,’  उनले भने ।

रातमाटे, माझीटार र देविटार तीन गाउँको बीचमा रहेको त्यस विद्यालयको उद्घाटनमा पुगेका सञ्चारकर्मीले त्यहाा उपस्थित अरुसँग पनि जनप्रतिनिधिका बारेमा जिज्ञासा राख्दा आफूहरु टुहुरो भएको गुनासो गरे । अहिलेसम्म भूकम्प पीडितका नाममा ५० हजार पाए पनि अरु के सुविधा पाउने हो कुनै ज्ञारेण्टी नभएको भन्दै उनीहरुले राज्य विहीनताको अवस्थामा बस्न बाध्य भएको गुनासो गरे ।

यसमा तपाईको प्रतिक्रिया