चौतर्फी बिरोधपछी प्रचण्डको खुल्यो मुख, अंगिकृत लाइ उच्च पद दिईदैन तर अंगिकृत नागरिकता दिने यसरी हुदैछ तयारी

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन भएपछि पनि अंगीकृत नागरिक मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मका पदमा निर्वाचित हुन नपाउने दाबी गरेका छन् ।

कास्की जिल्लाको विकास निर्माणका विषयमा प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराउन आएको माओवादी केन्द्रको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले राष्ट्रपति, मुख्यमन्त्रीसहितका पदमा अंगीकृत नागरिकलाई स्थान नरहेको बताएका हुन् । ‘संविधान संशोधनका विषयमा बजारमा अनेकौं हल्ला चल्ने गरेका छन्’, उनले भने, ‘ती हल्ला सत्य होइनन् । सरकारले संविधान संशोधन प्रस्तावको तयारी गरिरहेको छ ।’

प्रधानमन्त्री दाहालले संविधान संशोधनमा मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मका सबै पदमा बंशजका नागरिकले मात्र स्थान पाउने र निर्वाचित हुन पाउने व्यवस्था रहने बताए ।

नागरिकताको सवालमा अन्तरिम संविधानमा व्यवस्था भएको ‘कुनै विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरी सम्बन्धित देशको नागरिकता परित्याग गरेपछि नेपालको अंगीकृत नागरिक हुन पाउने’ भन्ने व्यवस्थालाई समावेश गरी संविधान संशोधनको प्रस्तावमा छलफल चलेको दाहालको भनाइ थियो ।

‘नागरिकतामा अरु संशोधन हुँदैन’, उनले भने, ‘विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेपछि आफ्नो देशको नागरिकता त्याग्छ भने नेपाली अंगीकृत नागरिकता पाउन सक्नेबारे छलफल चलिरहेको छ ।’

दाहालले सीमाङ्नका सम्बन्धमा विगतमा कांग्रेस–एमालेले तयार पारेको सात प्रदेशको प्रस्ताव वरिपरि नै सहमति खोजिने बताए ।

‘भाषाका बारेमा आयोगलाई अधिकार दिइन्छ’, उनले भने, ‘राष्ट्रियसभाको प्रतिनिधित्वबारे पनि भूगोल र जनसंख्यालाई ख्याल गरेर प्रस्ताव तयार पारिन्छ ।’

 

यसमा तपाईको प्रतिक्रिया