नेपाल प्रहरीको अर्को सफलता,भारतीय एसपीको गाडी चोरेर नेपाल छिरेका ठूलो गिरोहको समूह पक्राउ

giro-1

रौतहट,१० मंसिर–भारतीय एसपीको सञ्चार सेट र रातो बत्तिसहितको गाडी चोरी गर्ने गिरोह नेपालमा पक्राउ परेको छ । उत्तर प्रदेश हरदोईका एसपीको गाडी चोरेर नेपाल आएको गिरोहलाई मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडाको टोलीले रौतहटबाट पक्राउ गरेको हो । भारतीय एसपीको टाटा सुमो गोल्ड गाडी गत कात्तिक २० गते हरायो । रेडियो सेटसमेत भएको अत्याधुनिक प्रविधि जडित गाडी चोरी भएपछि विभिन्न चरणमा भारतीय प्रहरीले सीमावर्ती इलाकाहरुमा खोजी गरेको थियो ।

त्यसको सूचना नेपाल प्रहरीसमक्ष पनि आयो । सूचना लगत्तै मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडा र पर्साको टोली सम्भावित स्थानमा परिचालित भयो । अनुसन्धानको क्रममा भारतीय नम्बर प्लेटको शंकास्पद गाडी बाराको कचोर्वा हुँदै रौतहटको गौर आएको सूचना मिल्यो । खोजतलास गर्दै जाँदा गौरको गढवा पुल नजिकै रहेको मोटर ग्यारेजमा यूपी बी ०२१९ नम्बरको सेतो गाडी फेला पर्यो । गाडी त फेला पर्यो तर सबै पार्टपूर्जा निकालिएको अवस्थामा । ‘गाडी चोर्ने गिरोहको पहिचान गर्ने क्रममा भेटिएका विभिन्न जानकारीहरु केलाउँदै जाँदा चोरी भएको गाडी रौतहट आएको देखियो,’ डिआइजी पशुपति उपाध्यायले भने, ‘अनुसन्धानका क्रममा गाडीलाई टुक्रा–टुक्रा पारेर अलग–अलग स्थानमा प्रयोग गरिएको रहेछ ।’

उनका अनुसार ग्यारेज सञ्चालक सञ्जय साहसहित गाडी चोरीमा संलग्नहरुमध्ये केहीलाई पक्राउ गरिएको छ । साहले गाडीको तस्करी गर्ने गरेको प्रहरी स्रोतको भनाइ । अनुसन्धान कै क्रममा बिहीबार वीरगञ्ज १० गढवाबाट हतियारसहित भारत पूर्वी चम्पारणका मोहम्द समिम अख्तरलाई पनि प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जमा पक्राउ परेका अख्तर र रौतहटमा पक्राउ परेका ग्यारेज सञ्चालक साहसहित करिब ९ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको स्रोत बताउँछ । यो गिरोहले भारतका विभिन्न स्थानबाट गाडी चोरेर नेपाल भित्राउने र महंगा पार्टपूर्जाहरु निकालेर बेच्ने वा नक्कली नम्बर प्लेट प्रयोग गर्ने गरेका छन् ।

पक्राउ परेकाहरुको बयानको आधारमा अनुसन्धान गर्दा सो गाडीमा रहेको एमएटी ४४६२४८ इइके ०९१०१ नम्बरको चेसिस रौतहटको चन्द्रनिगाहपुरस्थित अमर ज्योति नेपाल नामक संस्थाको ना ३ च ६५१६ नम्बरको एम्बुलेन्समा प्रयोग गरिएको पाइएको छ । केही महिना अघि दुर्घटनामा परेको सोही एम्बुलेन्समा भारतीय उपरीक्षक चढ्ने गाडीको बडी पनि प्रयोग गरिएको छ । यसैगरी एसी, साइलेन्सर लगायतका अन्य पार्टपूर्जाहरु रौतहटको हजमिनियाबाट बरामद भएको छ । डिआइजी उपाध्यायका अनुसार गाडीका सामानहरु हेटौंडा, वीरगञ्ज र रौतहटमा बेचिएको छ ।

रौतहटबाट बरामद भएका गाडीका पार्टसहरु जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले बताए । गाडी चोरीमा संलग्न भएका केही व्यक्तिहरु फरार रहेको र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया