पाँच नम्बर प्रदेश टुक्र्याउने विपक्षमा मतदान गर्छुः माओवादी नेता रायमाझी

काठमाडौं मंसिर ११  सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उप–नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरि संविधान संशोधन प्रस्ताव ल्याए आफूले त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिए । 

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले सरकारले ५ नम्बर प्रदेशलाई तलमाथि गर्नेगरि संशोधन प्रस्ताव ल्याए आफू त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन् । उनले भने,‘मेरो लागि देश र जनता ठूलो कुरा हो, पार्टी भनेको त्यसपछिमात्रै हो ।’

रायमाझीले विवाद नै नएको ५ नम्बर प्रदेशलाई टुक्र्याउँदा कसैलाई पनि फाईदा नहुने जिकिर गरे । उनले ५ नम्बर प्रदेशलाई टुक्र्याउनेगरि संविधान संशोधनको प्रस्ताव आएमा उक्त प्रस्तावको विपक्षमा मतदान गर्दा पार्टीले कारवाही गरेपनि आफूलाई कुनै फरक नपर्ने स्पष्ट पारे । 

नेता रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने विषयमा ९० प्रतिशतको विरोध रहेको उल्लेख गर्दै भने, ‘५ नम्बर प्रदेशका सबै दलहरु एक ढिक्का छन्, यदि ५ नम्बर प्रदेशलाई तलमाथि गर्ने कुरा भए जनता स्वतस्फुर्त आन्दोलनमा उत्रिन्छन, अहिलेपनि आन्दोलनका झिल्काहरु देखा परेका छन् ।’ उनले भुईँको टिप्न खोज्दा गोजीको खस्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिए ।

५ नम्बर प्रदेशलाई टुक्र्याउनेगरि संविधान संशोधनको प्रस्ताव आएमा उक्त प्रस्तावको विपक्षमा मतदान गर्दा पार्टीले कारवाही गरेपनि आफूलाई कुनै फरक नपर्ने स्पष्ट पारे

 
उनले संविधान संशोधनको लागि दलहरुवीच सहमति जुटाउनुपर्ने बताउँदै भने, ‘संशोधन के–के विषयमा गर्ने भन्नेबारेमा दलहरुवीच सहमति कायम गर्नुपर्छ, टेबुलमा बसेर छलफल गरेपछि मात्रै संशोधनबारे निश्कर्षमा पुग्नुपर्छ ।’ उनले विवादै नभएको जिल्लालाई चलाउँदा मुलुक र जनता कसैको पनि हित नहुने जिकिर गरे । लुम्बिनी र राप्तीका जनता एक ढिक्का रहेको उल्लेख गर्दैै त्यसमा हात हाल्ने काम कसैले पनि नगरे हुने उनको चेतावनी थियो । 

उनले सहमतिमा संविधान संशोधनको प्रयास जारी राख्नुपर्ने यदि त्यसो भएन भने विधि र प्रक्रियाबाट अघि बढ्नुपर्ने सुझाव दिए । उनले ५ नम्बर प्रदेशलाई चलाउन नहुने भनेर सबैभन्दा पहिला आफूले बोलेको उल्लेख गर्दै त्यसपछिमात्रै एमालेले यसबारेमा बोलेको स्पष्ट पारे । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता एन.पी. साउदले संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दल एमालेलाई विश्वास लिएर अघि बढ्नुपर्ने बताए । 

साउदले एमाले यो देशको जिम्मेवार पार्टी र महत्वपूर्ण स्टकेहोल्डर भएकोले उसलाई विश्वासमा लिएर मात्रै संविधान संशोधन प्रस्ताव अघि बढाउनुपर्ने बतााएका हुन् । उनले संविधान संशोधनमार्फत असन्तुष्टहरुको मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । 

साउदले संविधान संशोधनको सरोकारवाला पक्ष, सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलवीच संशोधनको विषयमा सहमति कायम गरेरमात्रै अघि बढ्नुपर्ने स्पष्ट पारे । उनले अघि थपे,‘मधेशवादी दलहरुले पनि नयाँ शर्तहरु थुपार्दै जाने हो, सरोकारवालाहरुवीच सहमति भएन भने मुलुकमा नयाँ द्धन्द्ध सिर्जना हुन्छ ।’

साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संशोधन प्रस्ताव ल्याउनको लागि हतार गरेको समेत आरोप लगाए । उनले भने,‘प्रचण्डजीले हतार हतार गरिरहनुभएको छ, रेलको ईन्जिनमात्रै कुदाउने तर डब्बा छोड्ने काम गर्नुभएन नि ?’ उनले प्रतिपक्षीले बोलेका कुरालाई सरकारले नजरअन्दाज गर्न नहुने बताए । 

उनले कैलाली–कञ्चनपुरको जनता कहाँ बस्ने भन्ने कुरा त्यहाँका जनताले भन्दापनि काठमाडौंमा बस्नेहरुले बढि गरेको आरोप लगाउँदै थपे,‘कैलाली र कञ्चनपुरका जनतालाई भन्दा बढि काठमाडौंमा बढि त्यसबारेमा कुरा हुन्छ, यस्तै हो भने दुष्परिणाम आउँछ ।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुविर महासेठले प्रचण्डको नेतृत्वको सरकारले संविधान संशोधन प्रस्ताव कुनै हालतमा ल्याउन नसक्ने ठोकुवा गरे । 

उनले सरकारले संशोधनको नाममा हल्ला र प्रोपागाण्डा फैलाएको आरोप लगाए । उनले अघि थपे,‘यो सरकारले संविधान संशोधन प्रस्ताव ल्याउनको लागि होईन, त्यतिकै हल्ला र प्रापागाण्डा फैलाईरहेको छ, अन्तिममा आएर एमालेको कारणले वा एमालेले मानेन भन्छ अनि यही बहाना बनाउँछ ।’

उनले अहिलेको संविधानमा नागरिकता, भाषा लगायत केही विषयमा पनि विवाद नभएको दाबी गरे । महासेठले थपे,‘कसको के के स्वार्थ होला, अनि त्यसको पक्षमा किन दौडिनु नि ?’ 

मधेसी मोर्चाका नेता एवम् संघीय गणतान्त्रिक फोरमका अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन नगरीकन संविधान कार्यान्वयन हुनै नसक्ने दाबी गरेका छन् । 

उनले प्रचण्ड नेतृत्वको सरकारले संशोधन प्रस्ताव दर्ता गराउने हल्ला चलेकोप्रति टिप्प्णी गर्दै भने,‘संशोधन प्रस्ताव अघि बढाउने प्रक्रियामा हाम्रो विमति छैन, तर प्रस्तावमा हामी सरोकारवालाहरुसँग कमसेकम छलफल गर्नुपर्छ ।’ उनले सरकारले के–के विषयमा संशोधन गर्ने भन्नेबारे कन्क्रिट प्रस्ताव ल्याउनुपर्ने जिकिर गरे । 

अध्यक्ष यादवले जनताको जनमतलाई मानर्दन गरेर तीन ठूला पार्टीहरुले जबरजस्ती फाष्ट ट्रयाकमा संविधान जारी गरेकोले अहिले कार्यान्वयनमा समस्या आएको बताउँदै भने,‘हाम्रा मागहरु सम्बोधन हुने प्रस्ताव आएमात्रै हामी प्रस्ताव स्विकार्छौं ।’ उनले विषयवस्तुमा सहमति नहुनेगरि प्रस्ताव आए आफूहरु आ–आफ्नो बाटो लाग्ने भन्दै आन्दोलनको चेतावनी समेत दिए । 

Loading...

यसमा तपाईको प्रतिक्रिया