श्रीमतीको उपचारका लागि अस्पतालमा रहेका पत्रकार कर्ण बोहोराको रहस्यमय मृत्यु

मंसिर ११  सुदुरपश्चिममा कहलिएका पत्रकार कर्ण बोहोराको शुक्रबार अल्पयायुमै रहस्यमय मृत्यु भएको छ । दुवै किड्नी फेल भएकी ३७ वर्षिया पत्नी ममता बोहोराको उपचारमा रहेका पत्रकार बोहोराको मध्यबानेश्वरस्थित भेनस अस्पतालमा मृत्यु भएको हो ।
 
बिरामी पत्नीको कुरुवा रहेका बोहोरा अस्पतालको बेडमा सुतिरहेको अवस्थामा मृत अवस्थामा भेटिएका थिए । रहस्यमयी मृत्युको कारण पत्ता लगाउन उनको शव शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको छ ।
 
गत वर्ष साउनमा बोहोराकी पत्नी ममताको दुइवटै मृगौला काम नलाग्ने भएपछि उनी महेन्द्रनगरबाट उपचारकालागि काठमाडौं आएका थिए । ३७ वर्षीय पत्रकार बोहोरा पत्रकार महासंघ कञ्चनपुरका निर्वतमान अध्यक्ष हुन् । कान्तिपुरले लेखेको छ 
 
०५४ सालदेखि स्पेसटाइम दैनिकबाट पत्रकारिता सुरु गरेका बोहोराका दाजुको ब्रेनह्म्यारेजबाट अनि भाउजुको दुर्घटनाम मृत्यु भएपछि उनी टुहुरा चार भतिजा र भतिजीको पालनपोषण गर्दै आइरहेका थिए । बझाङको स्याडी मूल घर भएका पत्रकार बोहोरा गर्भे टुहुरा हुन् । उनी जन्मिनु तीन महिनाअघि नै उनका बुवाको डाकाले हत्या गरिदिएका थिए ।
 
नौं वर्षअघि महेन्द्रनगरमा प्रेमविवाह गरेका बोहोराको मृत्युपछि उनकी मृगौलारोगी पत्नीको अवस्था झन नाजुक भएको छ । बोहोराले महेन्द्रनगरमा स्थापना गरेको रेडियो पश्चिम नेपाल हाल सञ्चालनमा छ । 

 

यसमा तपाईको प्रतिक्रिया